Butwal Today

उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज ९शनिबार० हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यस्तै, लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यसपटक पनि बलियो उपाधि दाबेदारका रूपमा प्रस्तुत भएको छ । गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

उता, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको भए पनि यसपटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म आइपुगेको छ र जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ ।

लिग चरणमा यी दुईबीच भएको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित दर्ता गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।