© 2026
काठमान्डौ, २७ मंसिर ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मनोनीत हुने १०८ जना प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच ६०स्४० को अनुपातमा बाँडफाँड गर्ने सहमति भएको छ ।
शुक्रबार सचिवालयको झन्डै पाँच घण्टे बैठकपछि दुबै समूहबीचको समझदारी अनुसार प्रतिनिधि मनोनीत गर्ने सहमति भएको एक पदाधिकारीले जानकारी दिए । “ठ्याक्कै ६०स्४० को रेसियो नभए पनि लगभग त्यही अनुपातमा प्रतिनिधि मनोनीत गर्नुपर्ने बुझाइ छ,” उनले भने । बैठकमा अध्यक्ष ओलीको पक्षले झन्डै २०० जनाको नाम मनोनीतका लागि पेश गरेपछि पोखरेल समूहले अस्वीकार गरेको थियो । त्यसपछि दुवै पक्षले १०८ जनाको नाम फाइनल गर्ने सहमति गरेको थियो ।
शनिबार बिहान दुबै नेता बसेर मनोनीत प्रतिनिधिको नामावली टुङ्गो लगाएका छन् । यसअघि महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचित भइसकेका थिए । १०८ मनोनीत प्रतिनिधि समावेश भएपछि महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधि सङ्ख्या २ हजार २ सय ६२ पुगेको छ । एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार, मनोनीत प्रतिनिधिहरूको नामावली अनलाइनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
मनोनीत प्रतिनिधिहरू विभिन्न भ्रातृ सङ्गठन, प्रदेश कमिटी, बुद्धिजीवी, युवा विद्यार्थी, पेशागत महासङ्घ, सल्लाहकार परिषद् लगायतका समूहबाट चयन गरिएको छ ।
एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । अध्यक्ष पदको प्रतिस्पर्धा प्रायः केपी शर्मा ओली र ईश्वर पोखरेलबीच हुने निश्चित देखिन्छ । पोखरेललाई पूर्व राष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्या भण्डारीको समर्थन रहेको छ । उनी पार्टीमा लोकतान्त्रीकरणको विषय उठाउँदै फरक मत दर्ता गराइसकेका छन्, तर फरक मत महाधिवेशनमा छलफल नहुने सहमति जुटेको छ ।
दुवै पक्षले १५ पदाधिकारीको प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका भए पनि प्यानल सार्वजनिक भने भइसकेको छैन । यसअघि एमालेको १०औँ महाधिवेशन चार वर्षअघि चितवनको सौराहामा भएको थियो, जसमा अध्यक्षमा ओलीसँग नेता भीम रावलले प्रतिस्पर्धा गरेका थिए ।