© २०२३
जितपुर २७ मंसिर ।
वाणगंगा नगरपालिका–७ अन्तर्गत पर्ने अत्यन्त पुरानो र व्यस्त बनगाइ–डोहाटे सडक खण्डमा अवस्थित बनगाइ–मोतीपुर–कपिलधाम सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
सडक निर्माणको ठेक्का पाएका कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार बनगाइको सिमानादेखि मोतीपुर हुँदै कपिलधामको दोस्रो पुलसम्म एकै पटक दुवै तर्फ नालीसहित सडक निर्माण कार्य भइरहेको छ ।
६ करोड ६५ लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको उक्त सडक २३०० मिटर (२.३ किमी) लम्बाइ र १३ मिटर चौडाइको रहनेछ ।
भुसालका अनुसार, यो सडक खण्ड निर्माणका लागि २ वर्षको समय सीमा तोकिएको भए पनि कम्पनीले कामलाई अत्यन्त तीव्र गति दिएर ६ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ। हालसम्मको कामको गति हेर्दा समयभन्दा धेरै अगावै गुणस्तरीय काम पूरा गर्न सकिने आफूहरू विश्वस्त रहेको उनले बताए ।
यसअघि पनि यही कम्पनीले कोइली (ख) को मोटरेबल पुल निर्माण कार्य २ वर्षको समय तोकिएको अवस्थामा केवल ९ महिनामै सम्पन्न गरेर राष्ट्रिय स्तरमै पहिचान बनाएको थियो । गुणस्तरीय र द्रुतगतिमा काम सम्पन्न गर्ने क्षमताका कारण कम्पनीका सञ्चालक भुसाल राष्ट्रिय रूपमा प्रशंसित ठेकेदारका रूपमा चिनिन्छन् ।
स्थानीय बासीहरूका अनुसार, सडक निर्माणको गति, मेसिनरी प्रयोग, जनशक्ति र व्यवस्थापनले यस पटक सडक छिट्टै र राम्रो बन्ने अपेक्षा बढेको छ ।
सडक निर्माण सम्पन्न भएपछि बनगाइ–मोतीपुर–कपिलधाम क्षेत्रमा आवतजावत सहज हुँदै कृषि, पर्यटन र धार्मिक विकाससँगै स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको छ ।