© २०२३
काठमान्डौ, २५ मंसिर ।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो सरकार र जेनजी समूहबीच सम्पन्न सम्झौता–वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत केही तस्बिर सार्वजनिक गर्दै वार्तामा सहभागी व्यक्तिमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
गुरुङका अनुसार हिजोको कार्यक्रममा सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य समय नेपालमै थिएनन् । उनका दाबीअनुसार जेनजी आन्दोलन चर्किरहेको भदौ २३ मा सोडारी दक्षिण कोरियामा थिए र करिब ४० दिनपछि, अक्टोबर १८ मा मात्रै नेपाल फर्किएका थिए ।
सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिँदै गुरुङले लेखेका छन्, ‘जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ । हिजो जेनजीको पक्षमा सम्झौता नभएको भन्दै कागज च्यात्ने अजय सोडारी आन्दोलनकै बेला कोरियामा थिए ।’
हिजोको वार्ताका क्रममा सोडारीले सरकारसँग तयारी भएको सम्झौता जेनजीको हितविपरीत रहेको भन्दै पत्र च्यातेपछि कार्यक्रमस्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो ।
