© २०२३
बुटवल ।
कात्तिक १३ गतेबाट लगातार पेसी सारिँदै आएको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ ।
न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
आज न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दा स्थगित गरिएको उनले बताए । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गतेदेखि निरन्तर सारिँदै आएको छ ।
यसअघि दुई पटक रवि लामिछानेका कानुनी व्यवसायीले निवेदन दिएर मुद्दा सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण पनि सुनुवाइ रोकिएको थियो । कात्तिक १३ गते तोकिएको पेसी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो ।
लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविलाल जोशीको मुद्दा पनि एकैसाथ राख्न आदेश गरेको थियो ।
लामिछानेले सहकारीमा भएको अपचलनमा आफूलाई तोकिएको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो एक भाग बराबरको बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसमेत पेस गरेका थिए ।
छविलाल जोशीले पनि बिगोबापत जमानत पेस गरेका छन् । तर दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने निश्चित नभएकाले रिहा गर्न नमिल्ने आदेश जारी गरिएको थियो । यतिबेला रवि लामिछाने र जोशी दुवै पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन् ।