© २०२३
काठमान्डौ, २५ मंसिर ।
पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा गोली चल्ने विषम परिस्थितिले उत्पन्न गरेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै प्रत्यक्ष भूमिका नरहेको स्पष्ट पार्दै आफूविरुद्ध दायर रिट निवेदन खारेज गर्न माग गरेका छन् ।
जेनजी आन्दोलनमा दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित दायर रिटको लिखित जवाफमा लेखकले २१ जनाको ज्यान जानेगरी भएको बल प्रयोगको जिम्मा लिन अस्वीकार गरेका छन् ।
‘गृहमन्त्रीमा बहाल रहँदासम्म पदको जिम्मेवारी निर्वाह गर्ने क्रममा विषम परिस्थिति तथा हिंसात्मक गतिविधि उत्पन्न हुन पुगेको हो,’ लेखकले भनेका छन्, ‘त्यसमा मेरो कुनै भूमिका नरहेकाले रिट निवेदन खारेज गरियोस् ।’
उनले जेनजी युवाले शान्तिपूर्ण प्रदर्शन हुने आश्वासन दिएको भए पनि त्यसमा घुसपैठ भई बानेश्वरस्थित संसद भवन वरपर उग्र, हिंसात्मक र विध्वंसात्मक गतिविधि देखा परेको दाबी गर्दै त्यही कारण दुस्खद र अकल्पनीय घटना भएको बताएका छन् ।
लेखकका अनुसार २१ जनाको ज्यान जाने घटनाले आफू अत्यन्त पीडाबोध भएको र त्यसकै नैतिक जिम्मेवारीस्वरूप सोही दिन गृहमन्त्रीबाट राजीनामा दिएको बताएका छन् । राजीनामा देइसकेकाले भदौ २४ गतेको घटनामा आफूलाई प्रश्न गर्नु नमिल्ने दाबी पनि उनले गरेका छन् ।
‘लेखकले भदौ २२ गते बेलुकी बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरू तथा अधिकारीहरूले प्रदर्शन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरेको जानकारी दिएका छन् । उनले त्यही बैठकमा हताहति हुन नदिन, अत्यन्त न्यून बल प्रयोग गर्न र शान्तिसुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको बताएका छन् ।
यसैबीच, सुशीला कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटनसम्बन्धी प्रश्नमा भने लेखकले तटस्थताको नीति अपनाएको बताएका छन् । ‘प्रतिनिधिसभा पुनर्स्थापना र प्रधानमन्त्री कार्कीलाई पदमुक्त गर्ने–नगर्ने निर्णय अदालतकै क्षेत्राधिकारमा पर्ने भएकाले मैले यस विषयमा प्रतिवाद गरेको छैन,’ उनले लिखित जवाफमा उल्लेख गरेका छन् ।