Butwal Today

उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा 

२५ मंसिर २०८२, बिहीबार
अ+
अ-

सल्यान, २५ मङ्सिर । 

पार्टी विधान र केन्द्रीय निर्देशन विपरीत अपारदर्शी र मनोमानी ढङ्गले उम्मेदवार सिफारिस गरिएको भन्दै नेपाली काँग्रेस सल्यानभित्र असन्तुष्टि देखिएको छ ।

काँग्रेस सल्यानले केही दिनअघि राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेको उम्मेदवार सिफारिस प्रक्रियाप्रति पार्टीभित्रै असन्तुष्टि सार्वजनिक भएको हो ।

नेपाली काँग्रेसका वित्तीय संस्था समन्वय विभागका सदस्य, महाधिवेशन प्रतिनिधि दिलमान चन्दले कोरम नपुगेको अवस्थामै पदाधिकारीहरूले मनलाग्दी निर्णय गरिएको आरोप लगाए ।

आकाङ्क्षी उम्मेदवारहरू पर्याप्त रहे पनि न्यूनतम उपस्थितिलाई आधार मानेर एकल नाम मात्रै सिफारिस गरिनु, आवश्यक सङ्ख्यामा प्रदेश तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति सुनिश्चित नगरिनु, प्रतिनिधि सभा, राष्ट्रिय सभा र समानुपातिक तर्फ एक महिला सहित तीन जना सिफारिस गर्नुपर्ने प्रावधानको बेवास्ता हुनु जस्ता कारणले असन्तुष्टि पैदा भएको चन्दको भनाइ छ ।

उनले लामो समयदेखि पार्टीमा सक्रिय नेता डिल्लीराज रेग्मी, त्रिपुरा शाह, दिनमान चन्द, भूपेन्द्र खत्री, धन बहादुर हमाल, मित्रलाल सार्की लगायत अन्य आकाङ्क्षीहरूलाई समेत सिफारिस सूचीमा नसमेटिएको भन्दै एकलौटी अभ्यास गरिएको आरोप लगाए ।

जिल्ला कार्यसमितिद्वारा गरिएको मनोमानी निर्णयबारे नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयमा लिखित रूपमा औपचारिक जानकारी गराउने तयारी भइरहेको पनि चन्दको भनाइ छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको थियो ।

काँग्रेस सल्यानको बैठकले राष्ट्रिय सभामा एक जना, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ नौ जनाको नाम सिफारिस गरेको हो ।

राष्ट्रिय सभाको उम्मेदवारका लागि जिल्लाबाट धुर्वराज पुरीको एकल नाम सिफारिस भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ केश बहादुर विष्ट, सन्तोष केसी, एकराज डाँगी, मान बहादुर डाँगी, दिपेन्द्र कुमार खत्री र सुरेश चन्दको नाम सिफारिस भएको छ ।

समानुपातिक खसआर्य तर्फ चक्र देवकोटा, प्रेम बहादुर डाँगी, वीर बहादुर सेजुवाल, गणेश चन्द, धुब्र बहादुर मल्लको नाम सिफारिस भएको छ । समानुपातिक महिला तर्फ शुवद्रा बस्नेत, सीता गिरी, विष्णु कुमारी शर्मा र दलिततर्फ चक्र बहादुर परियारको नाम सिफारिस भएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।