© २०२३
जितपुर, २५ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा एनसि नेपालको आयोजनामा शिवराज नगरपालिकाको वडा नं.–१० लालपुरमा “बालविवाह जस्ता कुप्रथा र परम्पराको रोकथाममा शिक्षाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमकी प्रमुख अतिथि तथा शिवराज–१० की वडा अध्यक्ष मञ्जु मिश्राले आफ्नो वडालाई अभियानमा छनोट गरी बालविवाह जस्तो गम्भीर सामाजिक समस्याबारे जनचेतना फैलाउन कार्यक्रम आयोजित गरेकाेमा धन्यवाद व्यक्त गरिन्। उनले यस्तो किसिमका गतिविधिबाट समुदायमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गर्दै स्थानीय तह, विद्यालय, अभिभावक र समुदाय सबैको सक्रिय सहभागिता बिना कुप्रथाको अन्त्य सम्भव नहुने बताइन्।
कार्यक्रममा एनसि नेपालका केन्द्रीय सदस्य हरि अधिकारीले बालविवाह जस्ता कुप्रथा, उनीहरुको कारण, प्रभाव र रोकथाममा शिक्षाले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रशिक्षण दिएका थिए। उनले बालविवाह केवल व्यक्तिगत होइन, समग्र समाजकै विकासमा बाधक हुने सामाजिक अपराध भएको स्पष्ट पार्दै विद्यालय तथा समुदाय स्तरका सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै नागरिक मञ्च शिवराजका संयोजक थानेश्वर खनाल, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक कमल प्रसाद पौडेल लगायतका वक्ताहरूले लालपुर क्षेत्रमा बालविवाहको अवस्था, चुनौती र स्थानीय प्रयासबारे प्रकाश पारेका थिए । उनीहरूले बालविवाह रोकथामका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार र सामाजिक सङ्गठनहरू एकसाथ आउनु पर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा स्थानीय समितिका सदस्य, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा समुदायका बालक्लबहरुको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमले बालविवाह तथा कुप्रथाको असरबारे समुदायमा थप चेतना फैलिएको आयोजक संस्थाले जनाएको छ।कार्यक्रममा सहभागी सबैमा एनसि नेपालका जिल्ला संयोजक बाबुराम रायमाझीले धन्यवाद दिएका थिए भने कार्यक्रम सबिता अधिकारीको सहजीकरणमा भएको थियो ।