© २०२३
काठमाडौं, २५ मंसिर ।
पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा आगजनी हुँदा घरमा रहेको नगद जलेको भनी फैलाइएको हल्ला निराधार भएको दाबी गरेकी छन् ।
आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएको सूचना गलत र भ्रमपूर्ण भएको उल्लेख गरेकी छन् ।
लिखित जवाफमा उनले भनेकी छन्, ‘म तथा मेरो पति, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्रीका निवासमा रकम जलेको भन्ने कुरा टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्दै गरिएको दोषारोपण गलत छ ।’
राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी आरजु राणा देउवासहितका अधिकारीहरूले समयमा बैठक नबोली सेना परिचालन नगरेको र त्यसका कारण जनधनको क्षति भएको भन्दै उनीहरूलाई कारबाही गर्न मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।
त्यसै रिटको जवाफमा राणाले भनिएकी छन्, ‘शान्तिपूर्ण आन्दोलनका नाममा उच्छृङ्खल व्यक्तिहरू हाम्रो निजी निवासमा प्रवेश गरी ममाथि भौतिक आक्रमण गरे र निवासमा समेत आगजनी गरे, जसका कारण हामी घाइते भएका थियौं ।’
त्यस्तो परिस्थितिमा सुरक्षा परिषद्को बैठक तत्काल डाक्न नसकिएको उनको तर्क छ ।
‘जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने सामाजिक सञ्जालमा फैलाइएका अफवाहको कुरा छ, त्यसबारे सरकार तथा सम्बन्धित निकायले जाँचबुझ गरी क्षतिको मुचुल्का समेत तयार गरिसकेको अवस्था छ,’ उनले जवाफमा लेखेकी छन्, ‘आशंकामा आधारित पूर्वाग्रही र आरोपयुक्त रिट निवेदन खारेज गरी पाउँ ।’