© २०२३
स्वतन्त्र, निर्भीक र स्वाभिमानका साथ बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो ।
तर, पछिल्लो समय यो अधिकारमाथि हस्तक्षेप हुने गरेको छ । बोल्न पाउने हक पनि मानव अधिकार हो । नेपालको संविधानले नै आफ्नो मनमा लागेको कुरा बोल्न पाउने अधिकारको प्रत्याभूति गरेको छ ।
शान्तिपूर्ण तवरले बाँच्न पाउने अधिकारको प्रत्याभूति गरिएको छ तर कता कता यी अधिकारमाथि हस्तक्षेप भइरहेको छ । प्रसङ्ग विश्व मानव अधिकार दिवसको हो । यो वर्षको मानव अधिकार दिवस आज मनाईदैछ । ‘मानव अधिकार जीवनको आधार’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज मनाईदैछ ।
नारामा भनिएजस्तै मानव भएर बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर औपचारिकता पूरा गरिन्छ । यो दिवस केवल औपचारिक बन्दै गएको छ । मानव अधिकार दिवस मनाउँदै गर्दा नेपालमा पछिल्लो समय मानव अधिकारको अवस्था चिन्ताजनक छ ।
लोकतन्त्र भएर पनि मानिसका इच्छा र आकाङ्क्षा जहाँ दमित हुन्छ त्यहाँ लोकतन्त्र मृत समान हुन्छ । पछिल्लो समय नेपालमा भएका केही घटनामा मानव अधिकार उल्लङ्घन भएको भन्दै चिन्ता प्रकट हुँदै आएको छ ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा निर्मम दमन गरियो । भ्रष्टाचार नियन्त्रण र सुशासनको नारासहित प्रदर्शनमा उत्रिएका जेनजी भाइ बहिनीहरूमाथि सरकारले निर्मम दमन ग¥यो जसको कारण करिब दुई दर्जन होनहार युवाको ज्यान गयो । यस्ता केही उदाहरण छन् जसले मानव अधिकारको चरम दुरुपयोग गरेको छ ।
मानव अधिकार दिवस मनाउँदै गर्दा कसैको अधिकारमाथि कुनै पनि प्रकारको कुठाराघात हुनुहुँदैन । मानव अधिकारको परिभाषाभित्र समेटिएका कुराको प्रतिबद्धता सरकारका तर्फबाट पनि हुनु जरुरी छ ।
सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरूप यो दिवस मनाउने गरिएको हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७७ वर्ष पुगेको छ । सात दशक बढी लामो कालखण्डमा विश्वमा मानव अधिकारको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन ।
विश्वका केही मुलुकमा बोल्ने र पढ्न पाउने अधिकारबाट समेत नागरिक वञ्चित छन् । अफगानिस्तानको तालिबान सरकारले नागरिकलाई बोल्न, लेख्न र पढ्न पाउने अधिकारबाट वञ्चित गरेको छ । अफगानिस्तानका महिला बुर्का नलगाई बाहिर निस्किन समेत पाउँदैनन् ।
त्यहाँ मानिसको स्वतन्त्रतामाथि चरम दमन र नियन्त्रण गरिएको छ । केही मुस्लिम देश सिरिया, लिबिया, रुस, इराक, इरान लगायतमा मानिसले बोल्न समेत नपाउने अवस्था छ । त्यहाँ मानव अधिकारको ठाडो उल्लङ्घन भइरहेको छ ।
पछिल्लो समय रुस युक्रेन युद्धको क्रममा भएको मानवीय निवास होस वा पछिल्लो इजरायल र गाजामा भइरहेको मानव नरसंहार होस । युद्धका बाछिटाहरूले मानव जीवनलाई ध्वस्त बनाउँदै लगेका छन् ।
आज १६ दिने महिला हिंसाविरुद्ध दिवसको समापनको दिन हो । तर, महिलाहरूको मानव अधिकारको उल्लङ्घन सबैभन्दा ठुलो चिन्ताको विषय भएको छ । दिवसको समापन हुँदै गर्दा १३ बर्षीया बालिकाको निर्मम हत्या भएको र त्यो घटनामा संलग्न अपराधी दुई महिनापछि मात्रै पक्राउ परेको सार्वजनिक भएको छ ।
निर्मला पन्तको हत्याको घटना इतिहास बन्ने अवस्थामा पुगेको छ । नेपालका चेलीबेटीहरू हरेक कुरामा हिंसा र विभेदको सिकार भइरहेका छन् । उनीहरूको मानव अधिकार कागजमा खोज्नुपर्ने अवस्था छ । मानव समाजका लागि यस प्रकारको अवस्था कलङ्कको रूपमा चित्रित हुँदै आएको छ ।
मानव अधिकार दिवस मनाउँदै गर्दा संविधानले दिएको अधिकारको प्रयोग समेत गर्न नपाउनु चिन्ताको कुरा हो । निःशुल्क शिक्षा र स्वास्थ्यको कुरा मानव अधिकार हो । नेपालको संविधानले नै यसको ग्यारेन्टी गरेको छ तर त्यही चरम विभेद छ । देशमा दुई थरी नागरिक उत्पादन भइरहेका छन् ।
अबको दिनमा संविधानले नागरिकलाई प्रदत्त गरेको मानव अधिकारको हक खोज्न कसैले खुट्टा कमाउनु पर्ने अवस्था नआओस् । राज्य भएको अनुभूति गर्न पाइएन भने त्यहाँ मानिसको अधिकार कुण्ठित हुन्छ ।
त्यो अवस्था अब नेपालमा कम्तीमा पनि नआओस् ।