© २०२३
काठमाडौं, २४ मंसिर ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन् । बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
पोखरेलले भने, ‘प्यानल बनाउने वा नबनाउने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँकझ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी पनि गराएका छौं । सार्वजनिक रूपमा पनि हो ।
हामी कुनै अस्वाभाविक रूपमा प्रस्तुत भएको छैनौं । पार्टी अध्यक्षसँग मैले कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रूपमा दर्ता गरेको हो ।’
साथै उनले पार्टीमा विचारबारे विवाद नभएको पनि स्पष्ट पारे । पोखरेलले भने, ‘हाम्रो पार्टीभित्र छलफल हुन्थ्यो, तर ती छलफलहरू बाहिर बग्रेल्ती भएर आउँदैनथ्यो र आउन हुँदैन थियो । महाधिवेशनको आयोजना भइरहँदा एजेन्डा के के हुन् भन्ने कुरा स्पष्ट छ । अहिले हाम्रो विचारबारे पार्टीमा विवाद छैन ।’
पोखरेलले पार्टी जीवनमा कार्यसम्पादन शैली त्रुटिपूर्ण हुँदै गएकाले समस्या सिर्जना भएको पनि बताए । उनले भने, ‘जसले गर्दा हाम्रा असल विचार रुटमा पुग्न समस्या भयो । विचार अनुसार व्यवहारमा लागू गर्ने कुरामा कमजोरी रह्यो ।
हाम्रो तथ्यले पुष्टि गरेको छ कि सत्यको घोषणा फरक–फरक हुन थाल्यो । आफूले गल्ती वा कमजोरी गरेको भए त्यसप्रति सचेत हुन सकेनौं र जनतासम्म पुग्ने कुरा कमजोर भयो ।’
साथै उनले पार्टी जीवनमा लोकतन्त्रको महत्त्वबारे जोड दिए । पोखरेलले भने, ‘सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगरे कुनै दल कम्युनिस्ट पार्टीसमेत चल्न सक्दैन । विधि र पद्धतिबाट मात्र चल्ने आवश्यकता छ । सामूहिक नेतृत्वलाई अगाडि बढाइएन भने पार्टीको अस्तित्व रहँदैन ।’