© 2026
सल्यान, २४ मंसिर।
कहिले काळमा कक्षाभित्र भेटिने गुरु र चेला अहिले सल्यानको एउटै सरकारी कार्यालयमा कर्तव्य निर्वाह गरिरहेका छन् । नापी कार्यालय सल्यानमा देखिएको यो संयोग रोचक मात्र होइन, धेरैका लागि प्रेरणादायी पनि बनेको छ।
डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङको छैटौँ सेमेस्टरमा अध्यापन गर्ने शिक्षक सुरज विष्ट अहिले लोकसेवा परीक्षा उत्तीर्ण गरी नापी कार्यालय सल्यानका कार्यालय प्रमुख बनेका छन्। यिनै बिष्टका विद्यार्थी झकेन्द्र परियार हालै लोकसेवा आयोगबाट अमिन पदमा उत्तीर्ण भई सोही कार्यालयमा सेवा गर्न पुगेका हुन्। मेहनत, लगनशीलता र निरन्तरताले ल्याउने सफलताको उनीहरू प्रेरक उदाहरण बनेका छन्।
विद्यार्थी रहँदा स्पष्ट र समर्पित रूपमा पढाउने गुरु अहिले कार्यालय प्रमुख भएका देख्दा आफू अत्यन्त उत्साहित भएको अमिन परियार बताउँछन्। “गुरुले दिएका ज्ञान र प्रेरणाले नै मलाई यहाँसम्म पुर्यायो। अब गुरुकै नेतृत्वमा काम गर्ने मौका पाएको छु, अझै प्रतिबद्धतापूर्वक जिम्मेवारी पूरा गर्छु,” उनले भने।
नापी अधिकृत तथा कार्यालय प्रमुख सुरज बिष्ट पनि आफ्नै विद्यार्थी प्रशासनिक सेवामा प्रवेश गरि छेउमै काम गर्न थालेकोमा खुशी व्यक्त गर्छन्। उनले दाङको रझेना माध्यमिक विद्यालय, घोराही–१८ मा २०७९ सालतिर झकेन्द्रलगायतका विद्यार्थीलाई जियोम्याटिक्स इन्जिनियरिङ अध्यापन गरेका थिए।
दङ्गिशरण गाउँपालिका–४, दाङका बिष्ट २०७८ असोज ८ मा सर्वेक्षक र २०७९ भदौ २९ मा नापी अधिकृत पदमा सिफारिस भएका थिए। नापी कार्यालय बेलबारी, मोरङमा कार्यरत रहेका उनी २०८१ असोज ६ देखि सल्यानमा कार्यालय प्रमुखको रूपमा कार्यरत छन्।
यता, सल्यानको दार्मा गाउँपालिका–१ का झकेन्द्र परियार २०८१ माघ ९ मा लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयबाट अमिन पदमा सफल भएका थिए। हाल उनी काज सरुवामार्फत नापी कार्यालय सल्यानमा कार्यरत छन्।
गुरु–चेलाको यस रोचक पुनर्मिलनले सरकारी सेवामा समर्पण, परिश्रम र योग्यताको कदर हुने सन्देश दिएको छ।