© २०२३
काठमान्डौ, २४ मंसिर ।
बुधबार हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतले जारी गरेको परमादेशअनुसार उनी पुनः प्राधिकरणको नेतृत्वमा फर्किएका हुन् ।
उक्त निर्णयसँगै ऊर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर कार्यकारी निर्देशक नियुक्त भएका मनोज सिलवाल पदमुक्त भएका छन् । सिलवाल ७८ दिनमात्रै प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहे ।
अदालतको आदेश सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै सिलवालले परमादेशलाई सम्मान गर्ने बताएका छन् । उनले आफू राजनीतिक सिकार भएको दाबी नप्रतिबाद गर्दै अदालतको निर्णयअनुसार अघि बढ्नु स्वाभाविक भएको बताए ।
“म आफूलाई राजनीतिक सिकार भएको भन्दिनँ । सम्मानित अदालतको परमादेशअनुसार नै जानुपर्छ । मैले ७८ दिन काम गरेछु, जति दिन काम गरेँ, जिम्मेवारीपूर्वक गरेँ,” सिलवालले बताएका छन् ।
उनका अनुसार कार्यकालभर एक दिन पनि घरमै नबसी बिहान ९ बजेदेखि राति ९ बजेसम्म निरन्तर प्राधिकरणको कामलाई प्राथमिकता दिएका थिए ।
“इमानदार भएर काम गरेँ । प्राधिकरणलाई केही हदसम्म लयमा ल्याउन सफल भएँ,” उनले भने, “यो पद जाँच दिएर पास गरेर पाएको जागिर होइन । सरकारले दिएको जिम्मेवारी हो, चाहेपछि जुनसुकै बेला फिर्ता लिन पाउँछ । अहिले अदालतको आदेश आएपछि स्वाभाविक रूपमा पद छाडें ।”