© २०२३
काठमान्डौ, २४ मंसिर ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विधान महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशनको उद्देश्य भिन्न भएकाले दुवै चरणमा अलग–अलग बहस हुनु पर्ने स्पष्ट पारे ।
ज्ञवालीका अनुसार, विगतमा नीति र नेतृत्वबारे एउटै मञ्चबाट निर्णय गर्दा नीतिगत बहस ओझेलमा पर्ने, नेतृत्वको पक्षधरता हावी हुनेजस्ता समस्या देखिएका थिए । “यही अनुभवका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन छुट्टै आयोजना गर्ने संरचना बनाएका हौं । तसर्थ, विधान महाधिवेशनमा नेतृत्व विषयक बहस र नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक हुँदैन,” उनले लेखेका छन् ।
उनले दुई महाधिवेशनबीच नीति परिमार्जन आवश्यक परे केन्द्रीय समितिलाई संशोधन गर्ने अधिकार नै महाधिवेशनले दिएको स्मरण गराए । “हरेक घटनामा महाधिवेशन बोलाउनु वा महाधिवेशनको मञ्च प्रयोग गर्नु सम्भव र व्यावहारिक दुवै हुँदैन,” ज्ञवालीको भनाइ छ ।
सातौं महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक बनेको उल्लेख गर्दै उनले सो विषय केन्द्रीय समिति बैठकमार्फत संशोधन गरिएको र त्यही बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गरेको उल्लेख गरे । उनका अनुसार, त्यो निर्णय सही र सान्दर्भिक थियो ।
ज्ञवालीले नेतृत्वमाथि गम्भीर चुनौती रहेको वर्तमान परिस्थितिमा वस्तुनिष्ठ समीक्षा आवश्यक भए पनि मनोवैज्ञानिक दूरी र पक्षधरताले ग्रसित वातावरणमा हुने समीक्षा निष्पक्ष नहुने तर्क गरे । “यस्तो बेला गरिने समीक्षा आरोप–प्रत्यारोपमा रूपान्तरित हुने सम्भावना बढी हुन्छ,” उनले लेखे ।
आसन्न महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिंदै उनले आवश्यक परे स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गरे । “पार्टी एकतालाई थप मजबुत बनाउन सहमतिको हरसम्भव प्रयास गरौँ,” उनले आग्रह गरे ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी एनपिएल खेलाडीले देखाइरहेको ‘स्पोर्टसम्यानसिप’ उदाहरित गर्दै ज्ञवालीले पार्टी नेताहरूसमेतले त्यही भावना आत्मसात गर्नुपर्ने टिप्पणी गरे ।