© २०२३
काठमान्डौ, २४ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको परमादेशपछि पुनर्बहाली भएको बाँकी कार्यकाल सरकारसँग समन्वयमा रहेर प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार प्राधिकरण पुगेपछि कार्यभार सम्हाल्दै उनले भने, “मेरो कार्यकाल साढे तीन वर्ष बाँकी छ । यो अवधिमा प्राधिकरणलाई उत्कृष्ट नतिजातर्फ उन्मुख बनाउँदै सरकारसँग मिलेर काम गर्नेछु ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुनै प्रक्रिया नअपनाई आफूलाई हटाएको निर्णय अदालतले बदर गरिदिएपछि शाक्य पुनः पदस्थापित भएका हुन् । कार्यभार ग्रहण समारोहमा उनले दिगो र भरपर्दो विद्युत् सेवा विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा रहने बताए । “प्राधिकरणले विगतमा आफ्नै तर्फबाट विद्युत् उत्पादनमा खासै लगानी गरेन । अबका दिनमा प्राधिकरण आफैले पनि उत्पादनमा सक्रिय भूमिका बढाउनेछ,” उनले भने ।
प्राधिकरणको नेतृत्वका कारण बारम्बार आक्रमणमा परे पनि आफू नआत्तिएको बताउँदै शाक्यले प्राधिकरणमा तीन दशकभन्दा बढी समय निश्वार्थ सेवा गरेको स्मरण गरे । “म निरन्तर प्राधिकरण र देशको सेवामा समर्पित रहनेछु,” उनले भने । अदालतले यसपटक समयमै छिनोफानो गरेकामा उनले कृतज्ञता व्यक्त गरे ।
उनका अनुसार, अघिल्लो कार्यकालमा मुद्दाको सुनुवाइ पटक–पटक सरिँदा आफू अन्यायमा परेको अनुभूति भएको थियो । “करिब ३५ पटक पेसी सारियो । म कहिल्यै आफ्नो पक्षमा फैसला मागेको थिइनँ, समयमै न्यायिक प्रक्रिया अघि बढ्नुपर्छ मात्र भनेको थिएँ । यसपटक भने अदालतले समयमै सुनुवाइ गरिदियो र म न्याय पाउन सफल भएँ,” शाक्यले सम्झे ।
गत असोज ५ गते मन्त्रिपरिषद्ले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सो निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले सोमबार उक्त निर्णय खारेज गर्दै शाक्यको पुनर्बहालीको आदेश दिएको थियो । आदेश प्राधिकरणमा मंगलबार पुगेपछि शाक्यले बुधबार कार्यालयमा हाजिरी दिए ।
जेनजी आन्दोलनको प्रभावमा ऊर्जा मन्त्री बनेपछि कुलमान घिसिङले आफूलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र स्वेच्छाचारी ढंगले पदबाट हटाएको शाक्यको दाबीसमेत सर्वोच्चले सम्बोधन गर्दै परमादेश जारी गरेको हो । न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशपछि अब शाक्य आफ्नो बाँकी कार्यकाल पूरा गर्न सक्षम हुने भएका छन् ।