© २०२३
काठमाडौँ ।
घर निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिने सिमेन्ट उत्पादनमा अर्घाखाँची सिमेन्ट उद्योगले गम्भीर लापरबाही गरेको खुलासा भएको छ। बढी नाफा कमाउने लोभमा उद्योगले कम गुणस्तरको सिमेन्ट उत्पादन गरी बजारमा बिक्री गरिरहेको अनुगमनका क्रममा पुष्टि भएपछि उद्योगमाथि कडा प्रश्न उठेको छ। यही कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ।
घर निर्माणको मुख्य सिजनमै निकृष्ट सामान उत्पादन गरिनुले उपभोक्ताको जीवन र सम्पत्तिमा गम्भीर जोखिम देखिएको विभागको भनाइ छ। पटक–पटक ध्यानाकर्षण दिइँदै आएको भए पनि उद्योगले ऐनअनुसार सुधार नगरेपछि यो कारबाही गरिएको हो। विभागका अधिकारीहरूका अनुसार यस्तै गल्ती निरन्तर दोहोरिए उत्पादन तथा बिक्री वितरण नै रोक्ने तयारी भइरहेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ मा उल्लेखित कसुरमा उद्योग दोषी ठहरिएपछि सोही ऐनको दफा ३९ को उपदफा (१) बमोजिम जरिवाना गरिएको हो। विभागले आइतबार काठमाडौँ र रूपन्देहीका विभिन्न उद्योग तथा प्रतिष्ठानमा गरिएको अनुगमनपछि कैफियत भेटिएका कम्पनीहरूमाथि जरिवाना र निर्देशन दिएको छ। विभागका एक स्रोतका अनुसार रूपन्देही र काठमाडौंमा गरिएको अनुगमनमा अर्घाखाँची सिमेन्टको गुणस्तर अत्यन्तै कमजोर पाइएकाले कडाभन्दा कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
यो उद्योग यस्तै कम गुणस्तरका कारण पहिले पनि पटक–पटक कारबाहीमा परिरहेको र सुधार देखिएको नभएकाले विभागले विशेष निगरानी बढाउने तयारी गरेको जनाइएको छ। उपभोक्ता संरक्षण ऐनले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य वा बनावट लुकाएर बिक्री–वितरण गर्ने कार्यलाई अनुचित व्यापारिक क्रियाकलाप मानेको छ। ऐनअनुसार निरीक्षण अधिकृतले यस्तो अवस्थामा रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्ने, जरिवाना नतिरे वा सुधार नगरे उत्पादन तथा बिक्री वितरण नै रोक्का लगाउने व्यवस्था छ।
अनुगमनकै क्रममा विभागले सिद्धार्थनगर, रूपन्देहीस्थित तिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रीजलाई पनि रु दुई लाख पाँच हजार जरिवाना गरेको छ। पञ्चकन्या स्टीलमा भने सामान्य त्रुटि पाइएकाले विभागले निर्देशनमार्फत सुधार गर्न आग्रह गरेको छ।
अर्घाखाँची सिमेन्टको गुणस्तरमा बारम्बार समस्या देखिनु उपभोक्ताप्रति गैरजिम्मेवारीपूर्ण व्यवहार भएको भन्दै विभागले आवश्यक परे थप कडा कदम चालिने चेतावनी दिएको छ।