© २०२३
नवलपरासी, पश्चिम् ।
पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका –२ धरमपुरामा १० शैयाको पालिका स्तरीय अस्पताल को आज शिलान्यास गरिएको छ ।पालिका अध्यक्ष टेकनारायण उपाध्यायले आज एक कार्यक्रमका बिच अस्पताल निर्माणको शिलान्यास गरेका हुन ।
आफ्नै कार्यकालमा शिलान्यास गरिएको अस्पताल आफूहरूकै कार्यकालमा निर्माण सम्पन्न गरी पालिका बासिलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी पालिका अघि बढेको अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।
यहाँ अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि सुस्ताका नागरिक अन्यत्र धाउनु पर्ने अवस्था छ, हाम्रो अथक प्रयासपछि आज शिलान्यास भएको छ, समयमै निर्माण सम्पन्न हुनेमा हामी विश्वस्त छौ अध्यक्ष उपाध्यायले भने ।
झन्डै पौने ९ कट्ठा जग्गामा बन्ने भवनको कुल लागत १३ करोड ७५ लाख रुपैयाँमा ठेक्का आह्वान गरिएकोमा निर्माण कार्यको लागि सुरेन्द्र अर्बिट शिवदेव जेभी कम्पनीसँग ९ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।
अस्पताल निर्माणका लागि स्थानीय चेतनारायण न्यौपानेले ४ कट्ठा जग्गा निःशुल्क रूपमा जग्गा उपलब्ध गराएका हुन भने बाकी जग्गा पालिकाले खरिद गरेको हो ।बाकी जगा खरिदका लागि समेत स्थानीयले आर्थिक सहयोग उपलब्ध गराएका हुन ।
२०८२ मङ्सिर १५ मा सम्झौता भएर २०८३ मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यसहित निर्माण भइरहेको यस अस्पतालले सुस्ता क्षेत्रका स्थानीय वासीलाई आधारभूत उपचारदेखि आकस्मिक सेवा उपलब्ध गराउनेछ ।
आधारभूत स्वास्थ्य सेवा बाट समेत बन्चित भएका सुस्ताका नागरिकले अस्पताल निर्माण पछि सामान्य उपचारका लागि अन्यत्र धाउनु पर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । सङ्घीय सरकारको अनुदान र पालिकाको लागत साझेदारीमा अस्पताल निर्माण हुन लागेको पालिकाले जनाएको छ ।