© २०२३
काठमान्डौ, २३ मंसिर ।
निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेपछि अखण्ड सुदूरपश्चिम पार्टी नेपालको चुनाव प्रयोजनका लागि दर्ता गरिएको निवेदन खारेज गरेको छ । आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आवेदन स्वीकार गरेको थियो, जसअन्तर्गत १२० दलले निवेदन दिएका थिए ।
यीमध्ये छ दलले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण समयमै नबुझाएका कारण आयोगले जरिवाना तोकेको थियो । ती दलहरूमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चा रहेका थिए ।
६ दलमध्ये एक दलले आफ्नो दर्ता निवेदन नै फिर्ता लियो, जबकि ४ दलले अन्य दलसँग संयुक्त रूपमा चुनाव लड्ने उल्लेख गर्दै निवेदन दिए र आयोगले तोकेको जरिवाना पनि तिरे । तर अखण्ड सुदूरपश्चिम पार्टीले भने तोकिएको जरिवाना नतिरेकाले आयोगले उसको दल दर्ता निवेदन खारेज गरेको हो ।
निर्वाचन आयोगले २१ फागुनमा तय गरिएको चुनावमा सहभागी हुने दलहरूको सूची सार्वजनिक गरिसकेको छ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फ ११४ दल चुनावमा सहभागी हुनेछन् । समानुपातिक तर्फका लागि दल दर्ता प्रक्रियासमेत जारी रहेको आयोगले जनाएको छ ।