© २०२३
काठमाडौं, २३ मंसिर ।
ओपनर विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो । विराटनगरविरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लिएका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।
यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे । एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए, तर उनी १० रन बनाएर आउट भए । २१ रनमा पहिलो विकेट गुमाएपछि विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए ।
त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा शानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भए । त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने क्रममा ३ रनमै रनआउट भए । हर्मित सिंहले ११ बलमा १४ रन जोडे ।
एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए, तर उनी ६३ रन बनाएर १९औँ ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरे । आरिफ अन्तिम ओभरमा आउट भए ।
बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ तथा सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।