© २०२३
अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।
अभियानमा चासो र चिन्ता राख्नेहरू महिला हिंसाका अनेक आयामको बिषयमा ब्याख्या र विश्लेषण गर्दै न्यूनिकरण र नियन्त्रणको उपाय खोजीरहेका छन तर चिन्ताको कुरा अभियान चलिरहेकै बेला नेपालमा महिलामाथि हुने ज्यादती र हिंसाका बर्बर घटना रोकिएका छैनन ।
बारामा बुहारीको हत्यामा ससुरा र तिनको परिवारको संलग्नता देखिएपछि अहिले प्रहरीको हिरासतमा छन । पर्सामा एक महिलामाथि घर परिवारबाटै यातना दिएको घटना बाहिर आएको छ । यी बाहिर सार्वजनिक भएका हिंसाका कुरा भए ।
बाहिर नआएका पर्दा पछाडी कति नेपाली चेलीले यस्तै हिंसाका घटनामा प्रताडित हुनुपरेको छ । महिलाहरूमाथिको यातना रोकिएको छैन, चेलीहरू पीडा लुकाएर कष्टकर जीवन विताईरहेका छन् । हिंसा विरुद्धको अभियानको बेला यो अवस्था छ भने भोलिको दिनमा हुने यातना, तनाव, थिचोमिचाको कल्पना गरेर साध्य छैन् ।
लैङ्गिक हिंसा मानव अधिकारको हनन हो भन्ने विषयमा जनचेतना जगाउनका लागि यो अभियान राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा मनाइने गरेको पाईन्छ । दिवस मनाउँदै गर्दा यो दिवसको इतिहास पनि थाहा हुनपर्दछ ।
लैङ्गिक हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भ डोमिनिकन गणराज्यको मिरावेल परिवारका तीन दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको इतिहास भेटिन्छ ।
उनीहरू राजनीतिमा सक्रिय भएर आम नागरिकको अधिकारका लागि त्रुजिलो तानाशाह सरकारको विरुद्ध खरो रूपमा उत्रिएका थिए । यसैक्रममा तानाशाह त्रुजिलो सरकारका एजेन्टहरूले उनीहरूलाई क्रुरतापूर्वक हत्या गरेका थिए ।
तानाशाह सरकारले महिलामाथि गरेको हिंसा विरुद्धको युद्धमा आफै हिंसा खेपेर बलिदान दिएका ती तीन दिदी बहिनीको सम्झनामा अहिले विश्वव्यापी रूपमा चर्चा हुने गरेको छ । उनीहरूको हत्या केवल हत्यामा मात्र सिमित रहेन । त्यो त महिलाको स्वतन्त्रता, मानव अधिकार र न्यायको एक प्रतिक बनेर अटलरूपमा स्थापित भयो ।
उनीहरूको हत्या पश्चात स्थानीय तथा विभिन्न देशका महिला अधिकार समूहले चासो देखाउदै महिला तथा लैङ्गिक अधिकारको सकारात्मक पैरवी गर्न शुरु गरे । यतिमात्र नभएर उनीहरूको स्मृतिमा दिवस समेत मनाउन थाले ।
क्रमिक रूपमा समाजमा हिंसाका स्वरूप र प्रकार बढ्दै जान थाले । महिला हिंसा मात्र होइन सबै वर्गमा हिंसाको आकार फैलन थाल्यो । अझ भन्नुपर्दा महिलालाई त घर, समाज र राज्यका सबै तहमा असमान शक्तिको संरचनाले हिंसाको जोखिममा थप टेवा दिएको महसुस गराउँथ्यो ।
महिला लगायत आम नागरिकको अधिकार र न्यायको मुद्दालाई स्थापित गर्न केवल साना साना महिला समुहले मात्र गरेर टुङ्गो नलाग्ने स्थिति सिर्जना भयो । सन १९९१ म सेन्टरफोर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा विभिन्न २३ देशका महिला अधिकार समूह एकै ठाउँमा भेला भएर महिला हिंसा विरुद्धको दिवस मनाएका थिए ।
सन १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यस मुद्दालाई आत्मसाथ गर्दै अनुमोदन गरे पश्चात नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसका रूपमा स्थापित गरेको पाईन्छ । त्यसपश्चात हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैंङ्गिक हिंसा विरुद्धको दिवस विश्वव्यापी रूपमा मनाईएको पाईन्छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको अहिले ३४ वर्ष भइसकेको छ । नेपालमा यो दिवस सन १९९७ अर्थात बि.सं २०५४ बाट मनाउन शुरु गरिएको थियो । विशेषगरी नागरिक तहबाट सामाजिक संस्थाको नेतृत्व र अगुवाईमा हिंसा विरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो अभियान निरन्तर चलिरहेको थियो ।
तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले २०७५ साल कार्तिक २९ गतेबाट मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनाको रूपमा प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।
विश्वव्यापी रूपमा मनाईने १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै नेपाल सरकारले राष्ट्रिय नारा तयार गरि स्थानीय, प्रदेश र संघीय सरकार, सामाजिक संस्था र विभिन्न अभियन्ताहरूको सहकार्यमा यो दिवस मनाउने गरिन्छ ।
नोभेम्बर २५ तारिख अर्थात अभियानको पहिलो दिन दिवसको सन्दर्भ बुझेका व्यक्तिहरूले सेतो रिवन लगाएर “म हिंसा सहन्न, आफूपनि गर्दिन र हिंसा भएको देखेमा प्रतिकार गर्दछु” भनेर प्रतिवद्धता समेत गरेका हुन्छन् ।
यसको इतिहास सम्झिँदा सन १९९१ मा क्यानडाका युवाहरूले सेतो रिवन बाँधेर “म हिंसा सहन्न, आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु” भन्दै सेतो रिवन अभियान संचालन गरेका थिए । त्यसै समयदेखि सेतो रिवनलाई लैंगिक हिंसा विरुद्ध प्रतिवद्धताको प्रतिकका रूपमा प्रयोग गर्दै आएको पाईन्छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा राष्ट्रिय नारा तय गरेको छ । “प्रविधिको सही प्रयोग गरौँ :लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ २५ नोभेम्बर देखि १० डिसेम्बर २०२५ अर्थात मिति २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाईदै छ ।
लैंगिक हिंसा विरुद्धको प्रतिक सेतो रिवन वितरणसंगै नारा सम्वद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरू सरकारी तथा सामाजिक संस्थाहरूको आयोजनामा गरिने तयारी गरिएको छ । बर्तमान अवस्थामा प्रविधिको विकाससंगै हरेक मानिसले सामाजिक संजाल लगायत विभिन्न प्रविधिको प्रयोग व्यापकरूपमा गरेको पाईन्छ ।
यसको सहि प्रयोग गरेर लाभ लिईरहेका धेरै उदाहरण छन् । यस्तै प्रविधिको ज्ञान कम मात्रामा भएका कारण विभिन्न ठगीमा पार्ने र पर्ने गरेका घटनाहरू प्नि उत्तिकै बाहिर आएका छन् । नेपालको इतिहासमा महिला विरुद्ध हुने हिंसाको आवाज उठाउने पहिलो महिला योगमाया न्यौपाने रहेको भेटिन्छ ।
बि.सं १९२५ मा भोजपुरमा जन्मिएकी योगमायाले नेपाली महिलामाथि हुने अन्याय, अत्याचार र कुसंस्कार विरुद्ध आवाज उठाएकी थिईन् । त्यतिबेला उनको नेतृत्वमा समाजमा रहेका पितृ सत्तात्मक सोच, सामाजिक मूल्य मान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेद विरुद्ध अभियान संचालन गरेको भेटिन्छ ।
यहि अभियानका क्रममा बि.सं १९९८ मा आफूलाई साथ दिने सहकर्मी सहित समाज रूपान्तरणका लागि खवरदारी गर्दै जलसमाधि लिएकी थिइन् । त्यस अभियानलाई निरन्तरता दिदै हालसम्म धेरै नेपाली महिलाहरूले समाज रूपान्तरणको नेतृत्व लिएर सफल भएका छन् । यसमा पुरुष वर्ग र सरकारको पनि उत्तिकै सहयोग रहेको छ ।
नेपालको संविधान २०७२ ले लैंगिक विभेदको अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । लैंगिक समानता र सामाजिक समावेशीकरणको सवाललाई स्थापित नगरेसम्म देशमा दिगो विकासको परिकल्पना समेत गर्न सकिदैन ।
यसै सन्दर्भमा नेपाल सरकारले पनि लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानूनी व्यवस्था र विभिन्न अभियानमार्फत सचेतनात्मक कार्यक्रम संचालन गर्दै आएको छ । तर, जति नीतिगत रूपमा व्यवस्था गरिएको छ त्यति व्यवाहरिक रूपमा कार्यान्वयन भएको देखिदैन ।
लैङ्गिक हिंसा विश्वव्यापी मानव अधिकार उल्लंघन हो । जसका कारण महिला, किशोरी, बालिका, अपाङ्गता भएका व्यक्ति, ज्यष्ेठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, सिमान्तकृत समुदायका नागरिक बढी हिंसा खेप्न बाध्य हुन्छन् ।
प्रविधिको विकाससंगै बर्तमान समयमा कमजोर वर्ग मात्र नभएर शिक्षित वर्ग पनि हिंसाबाट प्रभावित भएको देखिन्छ । लैङ्गिक हिंसा भनेको समुदायमा बसोबास गर्ने महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसंख्यक सबै माथि हुने हिंसा हो ।
यसर्थ लैङ्गिक हिंसा विरुद्धको अभियान केवल १६ दिनमात्र नभएर ३६५ दिन नै चलिरहन्छ र यो अभियान केवल महिलाको मात्र नभएर हामी सबैको हो भन्ने सोच परिवर्तन हुनु अहिलेको मुख्य आवश्यकता देखिन्छ ।
१६ दिने अभियानमा हिजोका दिनमा भएका लैंगिक हिंसाका घटनाको विश्लेषण, हिंसा विरुद्ध गरिएका कार्यक्रमहरूको समिक्षा र लैङ्गिक हिंसा अन्त्यकालागि अवको योजना र प्रतिवद्धता समेत तय गर्ने गरेको पाईन्छ । विशेषगरि नोभेम्बर २५ देखि १० डिसेम्बर सम्म १६ दिने अभियानमा महत्वपूर्ण दिवसहरू पर्दछन् ।
नोभेम्बर २५ महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस, नोभेम्बर २९ अन्तराष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस, डिसेम्बर १ विश्व एड्स दिवस, डिसेम्बर ३ विश्व अपांगता दिवस, डिसेम्बर ५ विश्व स्वयंसेवक दिवस, डिसेम्बर ८ मर्यादित महिनावारी दिवस र अभियानको अन्तिम दिन डिसेम्बर १० मा अन्तराष्ट्रिय मानव अधिकार दिवस ।
दिवस त केवल सम्झना स्वरूप मनाईन्छ । विगतमा भएका घटना र हिंसा न्यूनीकरणका लागि गरिएका पहलहरूको समिक्षा गरिन्छ । अहिलेको युग डिजिटल युग हो । नेपालको जनगणना २०७८ अनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ता ७३ प्रतिशत र इन्टरनेट प्रयोगकर्ता परिवारको संख्या ३७.८ प्रतिशत छ । जनगणना पश्चातको यो चार वर्षमा स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या थप बढेको छ ।
प्रविधिको तीब्र विकाससंगै अनलाईन दुव्र्यवहार र सामाजिक संजालमार्फत शोषणजस्ता अपराधिक घटनाक्रम पनि संख्यात्मक रूपमा बढ्दो देखिन्छ । परम्परागत हिंसामा प्रायः परिवारकै सदस्य, आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएको देखिन्छ । तर, डिजिटल प्लेर्टफर्म (प्रविधि) बाट कहिल्यै नदेखेको, नचिनेको अपरिचित व्यक्तिबाट हिंसा हुने गरेको छ ।
सामाजिक संजाल र कृतिम बौद्धिकता (एआई) को विकाससंगै हिंसात्मक क्रियाकलाप थप डरलाग्दो बन्दै गएको छ । जसले अपराधीलाई नयाँ नयाँ माध्यम उपलब्ध गराउन सहयोग गरेको छ । प्रविधिबाट गरिने हिंसामा पनि महिला र किशोरीहरू बढी पिडित भएको विभिन्न तथ्यांकमा उल्लेख गरिएको छ । लंैगिक हिंसा केवल हाम्रो देशको मात्रै समस्या होईन । यो विश्वव्यापी समस्या हो ।
नेपालजस्तो विकासोन्मुख देशमा रहेका नागरिकहरू, गरिवी, तनाव र विभिन्न्न समस्याले हिंसामा पर्न र पारिन बाध्य भएका छन् । नेपाल सरकार, बाह्य दातृ संस्थाहरू र सामाजिक संस्थाहरूले लैङ्गिक हिंसा रोकथामका लागि अहिलेसम्म जे जति पहलकदमी गरिएका छन, यो सराहनीय छ ।
आज कार्यक्रम गरेर, भनेर वा सचेत गराएर भोलि नै हिंसा कम हुने हैन । यो त निरन्तर समुदाय स्तरमा जहाँ सूचना र जागरणको पहुँचको अपुग छ त्यही समुदायलाई सचेत बनाउनुपर्ने हुन्छ । यसर्थ यो अभियानमा सबै पक्षको ऐक्यवद्धता, भएका नीति तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सबै नागरिकले कानुनको पालना गर्न सके अवस्य हिंसामुक्त समाज निर्माण हुनेछ ।
यसका लागि हामी जहाँ छौ त्यहिँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गरौं ।