© २०२३
कपिलवस्तु, २३ मङ्सिर ।
पछिल्लो समय कपिलवस्तु जिल्लाका कृषकहरू निजी जमिनमा लगाएका बालीनालीलाई वन्यजन्तुले सखाप पार्न थालेका छन् ।
जिल्लाका कृषकहरू निलगाई, बँदेल, दुम्सी लगायतका वन्यजन्तुले खाद्यान्न बाली र तरकारी बाली नष्ट पार्न थालेपछि हैरान परेका छन् । तर वन्यजन्तुले बाली सखाप पार्न थाले पनि पीडित कृषकहरूले क्षतिको राहतका लागी डिभिजन वन कार्यालयहरूमा निवेदन दिए ।
विशेष गरी नेपालको वन क्षेत्र र भारतको संरक्षित वनबाट आउने वन्यजन्तुले बाली सखाप पार्न थालेपछि कृषकहरू मर्कामा पर्दै गएका हुन ।
जिल्लाको शुद्धोदन गाउँपालिका, मायादेवी गाउँपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिकाका कृषकहरू सिजनको खाद्यान्न बाली र तरकारी बालीहरू वन्यजन्तु निलगाईले क्षति गर्ने भएकाले समस्यामा परेको बताउँछन् ।
निलगाई र बँदेलले बाली नोक्सानी गर्दा खेतबारीमा तारबार, जाली, बत्तीको प्रयोग गर्दा कृषि उत्पादनको लागत बढ्ने गरेको कृषकहरूको गुनासो छ । कतिपय स्थानमा वन्यजन्तुले बाली सखाप पार्न थालेपछि तरकारी खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको कृषकहरू नै बताउँछन् ।
पहिले वन्यजन्तु निलगाईको झुन्ड गाउँ बस्तीमा नआउँदा आफ्नो गाउँको करिब १ सय ५० घरधुरी नै तरकारी खेतीमा लाग्दै आएको शुद्धोदन गाउँपालिका वडा नं. २ हरनामपुरका कृषक ब्रिकम चौधरीले बताए । “निलगाईको झुण्डले तरकारी खेती सखाप पार्न थालेपछि ५० परिवारले त तरकारी खेती गर्नै छोडिसके ।
निलगाईले खाएर र कुल्चेर बाली नोक्सान गरिदिन्छ । निलगाईबाट बाली जोगाउन कुनै किसानले झट्का मेसिन, कसैले बत्ती, कसैले तारबार र कसैले जाली लगाउनु परेको छ,” उनले भने । वन्यजन्तुबाट बाली जोगाउन तारबार सहितको उपाय अपनाउँदा कृषकलाई खेतीमा उत्पादन लागत बढ्दो छ ।
निलगाईको झुण्डनै आएर तरकारी खेती मास्ने गरेको सोही गाउँका अर्का कृषक कमलेश चौधरीले बताए । वन्यजन्तुबाट बालीनाली जोगाउने उपाय नहुँदा कतिपय बेला जाग्राम बसेरै बालीनाली जोगाउनु परेको उनले अनुभव सुनाए ।
निलगाईले खेतीपाती गर्न सक्ने अवस्था नै नभएको भए पनि आफूहरूले जसोतसो तरकारी खेती गर्दै आएको शुद्धोदन गाउँपालिका वडा नं. ४ ठुलो महादेवका तरकारी उत्पादक कृषक नन्दराम मौर्यले बताए । वन्यजन्तुले बालीनाली क्षति गर्दा राहत पाउने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको मौर्यले बताए ।
वन्यजन्तुबाट हुने क्षतिमा राहतका लागि नेपाल सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी गरि देशभर राहत उपलब्ध गराउँदै आएको छ ।
निर्देशिकामा सामान्य घाइतेलाई बढीमा २० हजार रुपैयाँ, गम्भीर घाइतेलाई उपचार भई सके बढीमा २ लाख रुपैयाँ तथा उपचार पुरा नभए सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च, अङ्गभङ्ग भई जीवनभर गम्भीर शारीरिक अशक्त हुने अवस्थामा एकमुष्ठ ५ लाख रुपैयाँ, मृत्यु भएका नजिकको हकवालालाई १० लाख रुपैयाँ, ठुला पशु मृत्यु भएकालाई ६० हजार रुपैयाँ सम्म, अन्य पशुलाई १० हजार रुपैयाँ सम्म, माछा र कुखुरामा क्षति पुगे एक पटकमा बढीमा १० हजार रुपैयाँ सम्म र बाली क्षति भएमा मूल्याङ्कनका आधारमा एक मौसममा बढीमा १० हजार रुपैयाँ राहत दिन मिल्ने उल्लेख छ ।
तर कपिलवस्तुका कृषक भने वन्यजन्तुबाट हुने बाली नालीमा हुने क्षतिको राहत बारे अनभिज्ञ देखिन्छन् । सङ्घीय सरकारले प्रत्येक प्रदेशलाई राहत उपलब्ध गराउनका लागि १ करोड बजेट दिएको छ । क्षतिको अवस्था हेर्दा सो बजेट साह्रै नै न्यून छ ।
निर्देशिकामा बँदेल र बाँदरले गर्ने क्षतिलाई समेत समेटिएपछि पहाडी जिल्लाबाट राहतका लागि आउने निवेदन बढ्दो छ । जसका कारण राहत उपलब्ध गराउन प्रदेश सरकारलाई समस्या पर्दै आएको देखिएको छ ।
लुम्बिनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमण भएका नेपाली नागरिकको हकमा निर्देशिका अनुसारको १० लाख र प्रदेश सरकारबाट थप १ लाख गरि ११ लाख रूपैया राहत उपलब्ध गराउँदै आएको छ । यसै गरी बाँके र बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमणले हुने मृत्युको सङ्ख्या बढी रहने भएकाले समेत राहतका लागि रकम अपुग हुँदै आएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८१/८२ कै अवधिमा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ६ जना नागरिक र बाँकेमा ४ जना नागरिकको मृत्यु भएको देखिएको छ । एकातिर राहतका लागी दिइने रकम अपुग छ भने अर्का तर्फ राहत प्राप्तिको प्रक्रिया समेत झन्झटिलो रहेको देखिएको छ ।
बालीको नोक्सानी भएका कृषकले वडा, कृषि, वन सहितका चार स्थानको सिफारिसका आधारमा मूल्याङ्कन पछि डिभिजन वन कार्यालयको निर्णयको आधारमा प्रदेश सरकारबाट राहत पाउने प्रक्रिया छ जुन आफैमा झन्झटिलो छ ।
कपिलवस्तु जिल्लामा गत आर्थिक वर्षमा चितुवाले बाख्रा मारेको विषयमा २ वटा र यो आवमा १ वटा राहतको लागि निवेदन आएको देखिएको छ । सो निवेदनको आधारमा डिभिजन वन कार्यालय कपिलवस्तुले आवश्यक निर्णय पश्चात् प्रदेश मन्त्रालयमा सिफारिस गरी सकेको भए पनि पीडितले राहत रकम पाइसकेका छैनन् ।
हालसम्म डिभिजन वन कार्यालयमा वन्यजन्तुले बाली क्षति पुर्याएको राहतको लागी भनेर कुनै निवेदन नआएको डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) का सिनियर डिभिजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।
निर्देशिका अनुसार बाली क्षतिमा बढीमा १० हजार राहत पाउने प्रक्रिया झन्झटिलो लाग्नुका साथै राहत पाउने जानकारी नहुँदा समेत कृषकहरूले राहतका लागि निवेदन नदिएको हुन सक्ने उनले बताए ।