© २०२३
काठमाडौँ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् ।
२०४८ सालदेखि अहिलेसम्म भएका सबै प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निरन्तर प्रतिस्पर्धा गर्दै जीत हासिल गर्दै आएका देउवाले यस पटक अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका छन् ।
कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी कार्यालयलाई परिपत्र जारी गर्दै मंसिर मसान्तभित्र उम्मेदवारका नाम सिफारिस गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर पठाइएको परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।
नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार जिल्ला स्तरीय नेता–कार्यकर्ता र स्थानीय नागरिकको इच्छा देउवाले फेरि एक पटक निर्वाचन लडून् भन्ने रहेको छ, र सो जानकारी आफूहरूले सभापति देउवालाई भेटेर गराइसकेका छन् । ‘डडेलधुराका पार्टीका साथीहरू र पब्लिकको आकाङ्क्षा सभापतिज्यू एक पटक निर्वाचन लडिदेओस् भन्ने छ,’ साउदले भने, ‘उहाँ यसबारे सकारात्मक हुनुहुन्छ ।’
उनका अनुसार उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते जिल्ला कार्यसमिति बैठक बस्नेछ र सो बैठकमा देउवाको नाम सिफारिस गर्ने तयारी भइरहेको छ । यता देउवाले पनि जिल्लावासी र पार्टी नेता–कार्यकर्ताको आग्रहअनुसार अन्तिम पटक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी रहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इंजिनियर भुवन भट्ट मंगलबार बिहान देउवालाई भेट्न पुगेका थिए । भेटका क्रममा उम्मेदवारीबारे जिज्ञासा राख्दा देउवाले अन्तिम पटकका लागि निर्वाचन लड्ने मनसाय व्यक्त गरेको भट्टले बताएका छन् ।
देउवा डडेलधुराबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् । २०४६ सालको जनआन्दोलनपछि अहिलेसम्म भएका सबै निर्वाचनमा लगातार प्रतिस्पर्धा गरी अपराजित रहने उनी एकमात्र नेता हुन् । ७ पटकको विजयी यात्रापछि देउवा अब आठौँ पटक प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
देउवा २०४८ सालमा गृहमन्त्री बनेका थिए र त्यसपछि ५ पटक प्रधानमन्त्री भइसकेका छन् ।