© २०२३
‘भ्रष्टाचारविरुद्ध युवाहरूको ऐक्यबद्धता’ भन्ने नाराका साथ आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाईदैछ ।
प्रत्येक वर्षको डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा नेपालले पनि मनाउँदै आएको छ । यो वर्षको नाराले जेनजीहरूको भूमिकालाई अझै सशक्त बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । जेनजी भनेका आजका युवाहरू नै हुन ।
तसर्थ यो वर्षको नाराले भ्रष्टाचारविरुद्ध युवाहरू एक हुनुपर्ने जुन उद्घोष गरेको छ, त्यसले अव देशमा युवाहरू नै अघि बढ्नुपर्दछ भन्ने सन्देश दिएको छ । युवाहरूमा देशमा बढिरहेको भ्रष्टाचारप्रति साँच्चै चिन्ता देखिएको छ ।
यो दिवस मनाउँदै गर्दा राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिचित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यस अनियमिततामा संलग्न रहेको दाबी गर्दै आयोगले पूर्व मन्त्री, पूर्व सचिव, पूर्व सहसचिवहरू तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार भएको देखिएको छ । भ्रष्टाचारविरुद्धको दिवस मनाउँदै गर्दा सार्वजनिक भएको यो खबरले नेपालमा कति भ्रष्टाचार हुँदो रहेछ भन्ने कुरा स्पष्ट गरेको छ ।
नेपालमा हजार, लाख, करोडमा मात्रै होइन अरबमा भ्रष्टाचार हुने गरेको अख्तियारले मुद्दा दायर गरेको यो तथ्यबाट स्पष्ट भएको छ । भ्रष्टाचारविरुद्धको दिवस मनाई रहँदा नेपालीहरूले यस्ता समाचार सुन्न अभ्यस्त हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
अर्कोतर्फ नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीको शीर्षस्थानमा यथावतै छ । नेपालले भ्रष्टाचार धेरै हुने सूचिबाट नेपाललाई थोरै हुने देशको सूचीमा झार्न सकेको छैन । यसैबाट नेपालको सार्वजनिक प्रशासन कति पारदर्शी छ भन्ने कुरा स्पष्ट हुन्छ ।
भ्रष्टाचारका काण्डै काण्ड एकपछि अर्को खुल्दै गएको छ । वास्तवमा नेपालका नेता र कर्मचारीहरू कत्तिको बदनाम छन् र उनीहरूले मौका मिलेमा के गर्दैनन् ? भन्ने प्रश्न पनि उठेको छ । नेपालले धेरै पहिलेदेखि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा अघि सार्दै आएको छ ।
नेपालका नेताहरू भ्रष्टाचार नगर्ने कसम खान्छन् तर घरभरि पैसाको गोदाम भेटिन्छ । यो गम्भीर चिन्ताको कुरा हो । वास्तवमा नेपालका ठुला नेताहरू भ्रष्टाचारबाट अलग हुन सकेनन् यो विडम्बनाकै कुरा हो । ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालको भ्रष्टाचार सूचकाङ्कमा नेपाल अझै पनि ११७ औँ स्थानमा यथावत् छ ।
यसले के देखाउँछ भने नेपालमा भ्रष्टाचार रोकिएको छैन । बरु भ्रष्टाचारमा ठुलो ठुला काण्ड जोडिँदै, मुछिँदै गएका छन् । धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा अगाडि नम्बरमा आउनु देशको सुखद सङ्केत होइन ।
यद्यपि नेपाल दक्षिण एसियामै भ्रष्टाचार नियन्त्रणको संस्थागत प्रयास थालनी गर्ने पहिलो राष्ट्र हो तर विडम्बना नै भन्नुपर्दछ– नेपालले आफ्नो साख जोगाउन सकेको छैन र भ्रष्टाचार हुने देशको सूचीमा नेपालले अग्रता कायम राख्दै आएको छ र विश्वमै नेपालको नाम बदनाम भइरहेको छ ।
दिवस मनाउँदै गर्दा आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने नेपालले अभियानकै रूपमा भ्रष्टाचार नियन्त्रणमा काम गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो भूमिका अझै प्रभावकारी बनाउनु जरुरी छ । अबको दिनमा पोखरा विमानस्थलमा भएको भ्रष्टाचार जस्तै अरू ठुला ठुला भ्रष्टाचारका फाइल खोल्ने काम होस् ।
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकार आक्रामक रूपमा प्रस्तुत हुने घोषणा गरेकी छन् । तर कार्की नेतृत्वको सरकारको घोषणा केवल औपचारिक नहोस् । भ्रष्टाचार नियन्त्रणमा नेपाल सरकार, यहाँका राजनैतिक दल, नागरिक समाज सबैको गम्भीर ध्यानाकर्षण होस् ।
भ्रष्टाचारविरुद्धको दिवसको नाराले भनेजस्तै अव भ्रष्टाचार नियन्त्रण गर्ने हो भने युवाहरू अघि बढ्नु जरुरी देखिएको छ ।