Butwal Today

कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु

२३ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २३ मंसिर ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवारी दिने स्पष्ट संकेत दिएका छन् । उनले यसपटक चुनावी प्रतिस्पर्धामा उत्रिनु आफूका लागि ‘अन्तिम निर्वाचन’ हुने बताएको नेताहरूले बताएका छन् ।

डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार सभापति देउवाले उम्मेदवारी दिन रुचि देखाएको जानकारी आएपछि पार्टी संगठनले सर्वसम्मत सिफारिस गर्ने तयारी गरेको छ ।

गत साता महाराजगञ्जस्थित देउवा निवासमा भेटका क्रममा सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले समेत देउवाले ‘चुनाव लड्ने मनसाय व्यक्त गरेको’ जनाए । ती नेताले भने, ‘साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेपछि सभापतिले आफू उठ्ने बताएका हुन् ।’

त्यसैगरी, मंगलबार बिहान देउवासँग भेट गरेका नेविसंघ नेता भुवन भट्टले पनि सभापतिले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने जानकारी दिएको बताए ।

कांग्रेसले यस महिनाको अन्त्यसम्म केन्द्रमा उम्मेदवारका नाम सिफारिस गर्ने परिपत्र पठाइसकेको छ । विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला सहित तीन जनाको नाम क्रमशः प्रदेश र केन्द्रमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

सभापति देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका छन् ।