© २०२३
काठमान्डौ, २३ मंसिर ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका घटनाबारे छानबिन गर्न गठित आयोगले सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई बयानका लागि बोलाउन थालेको छ । आयोगका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजी) राजु अर्यालसँग बयान लिने प्रक्रिया सुरु भएको छ । त्यसपछि नेपाल प्रहरीका आइजी दानबहादुर कार्कीलाई पनि आयोगले उपस्थित गराउने तयारी गरेको छ ।
अर्याल जेनजी आन्दोलन चलिरहेको समयमा नै सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए । कार्की भने आन्दोलनअघि प्रत्यक्ष रूपमै परिचालन नेतृत्वमा थिएनन् । भदौ २३ गते बेलुकी मन्त्रिपरिषद्को निर्णयपछि मात्र उनले भदौ २४ गते बिहानदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए । आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको रूपमा नभई तत्कालीन एआईजीको जिम्मेवारीका आधारमा बयान लिन लागिएको जनाएको छ ।
एक आयोग स्रोतका अनुसार, “नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका बहालवाला प्रमुखहरूसँग बयान लिने प्रक्रिया अब मात्रै सुरु हुँदैछ । त्यसपछि तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीलाई पनि बयानका लागि बोलाइनेछ ।”
आयोगले अघिल्लो सातादेखि बयान प्रक्रिया अघि सारेको थियो । यसअन्तर्गत काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान सकिएको छ भने तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान देिसकेका छन् ।
आयोगको म्याद समाप्त हुन अब करिब एक सातामात्र बाँकी हुँदा बयान तथा तथ्यसङ्कलनको काम पूर्ण हुन सकेको छैन । बाँकी विवरण संकलन र प्रतिवेदन लेखनका कार्यलाई ध्यानमा राख्दा आयोगको अवधि थप्नुपर्ने अवस्था सिर्जना भइसकेको आयोगसम्बद्ध स्रोतले जनाएको छ ।