© २०२३
काठमान्डौ, २३ मंसिर ।
थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अझै टुङ्गिएको छैन । सोमबार रातभर दुई देशबीच झडप भए पछि तनाव बढेको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार मध्यरातपछि थाई सेनाले सीमानजिकैको बान्टेय मिन्चे प्रान्तमा गोली प्रहार गरेको जनाएको छ । रोयटर्सका अनुसार, थाइल्यान्डले मंगलबार आफ्नो नियन्त्रण क्षेत्रबाट कम्बोडियाली सेना हटाउन कारबाही अघि बढाएको बताएको छ ।
आक्रमणको क्रममा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई कम्बोडियाली नागरिकको मृत्यु भएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । यससँगै हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । लडाइँमा थाइल्यान्डका एक सैनिक पनि मारिएका छन् ।
दुवै देशले एकअर्काविरुद्ध हमला गरेको आरोप लगाउँदै आएका छन् । यसपछिको झडप गत जुलाईमा भएको युद्धविरामपछि सबैभन्दा गम्भीर द्वन्द्वका रूपमा देखिएको छ ।