© २०२३
काठमान्डौ, २३ मंसिर ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत प्रतिस्पर्धा गर्न ६७ दलले दर्ता निवेदन दिएका छन् । दल दर्ताका लागि तोकिएको समयसीमा आजसमेत खुला रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २१ गतेदेखि आजसम्म समानुपातिकतर्फ चुनाव लड्न इच्छुक दलहरूले दल दर्ताको निवेदन पेस गर्नुपर्ने व्यवस्था छ । पहिलो दिन ३३ दल र दोस्रो दिन ३४ दलले दर्ता निवेदन दिएका थिए । आज थपिने दलसहितै समानुपातिक प्रणालीबाट प्रतिस्पर्धा गर्ने दलको संख्या तय हुनेछ ।
दर्ता निवेदनहरूको अध्ययन–छानबिन गरी आयोगले मंसिर २६ गतेसम्म स्वीकृत सूची सार्वजनिक गर्नेछ ।
यस्तै समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते पेश गर्ने तालिका छ । बन्दसूचीको प्रारम्भिक सूची माघ ४ गते प्रकाशन हुनेछ भने माघ २० गते दाबी–विरोध र उजुरीको छानबिनपछि अन्तिम सूची प्रकाशित गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभामा २७५ सदस्य रहने छन्। जसमा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते हुने तालिका आयोगले सार्वजनिक गरेको छ ।