© २०२३
काठमान्डौ, २३ मंसिर ।
नेकपा एमालेले आउँदो ११औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन विभिन्न १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाएको छ । महाधिवेशनको तयारीका लागि गठन भएको अतिथि सत्कार समितिले सो निमन्त्रणा पठाएको हो ।
समितिकी सदस्य सुनिता बरालका अनुसार एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी ९नेमकिपा० लगायतका दललाई निम्तो गरेको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई औपचारिक रूपमा आमन्त्रण गरिएको छ ।
यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी तथा नागरिक उन्मुक्ति पार्टीलाई पनि निमन्त्रणा पठाइएको बरालले जानकारी दिइन ।
महाधिवेशनको तयारी अन्तर्गत मूल आयोजक समिति सहित विभिन्न उपसमितिहरू सक्रिय छन् । मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास तथा स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार लगायतका समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । महाधिवेशनका लागि विशेष लोगो र जिङ्गल समेत सार्वजनिक भइसकेका छन् ।
अतिथि सत्कार समितिले देशभित्रका प्रमुख राजनीतिक दल विशेषतः कम्युनिस्ट विचारधारा बोकेका दलहरूलाई प्राथमिकता दिँदै निमन्त्रणा पठाएको जनाएको छ । बरालका अनुसार विदेशमा रहेका आमन्त्रित व्यक्तिहरूलाई प्रत्यक्ष भेटेर नभई शुभकामना सन्देशका माध्यमबाट निमन्त्रणा गरिएको छ ।
नेपालमा रहेका विभिन्न विदेशी दूतावास तथा नियोगहरूलाई पनि महाधिवेशनमा सम्भव भएसम्म सहभागी हुन अनुरोधसहित निमन्त्रणा पठाइएको समितिले जनाएको छ ।