Butwal Today

दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

२२ मंसिर २०८२, सोमबार
अ+
अ-

 काठमाडौँ, २२ मङ्सिर ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताबिच साँघुरिन, खुम्चिन र आइसोलेसनतर्फ जाने अवस्था देखिन थालेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित एघारौँ महाधिवेशनसम्बन्धी अन्तर संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टी व्यक्तिवादी र केही व्यक्तिको निर्णयबाट चल्ने स्थितितर्फ विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जस कारण नेकपा एमाले जनताको बिचमा साँघुरिने, खुम्चिने र आइसोलेसनमा जाने अवस्था देखिँदै छ ।’

उनका अनुसार नवपुस्ताले पनि अब चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र माथिबाटै सूची तय हुने पार्टीप्रति आकर्षण देखाउने सम्भावना कम छ ।

‘विस्तार भइरहनुपर्ने, नवपुस्ताबिच लोकप्रियता बढ्नुपर्ने पार्टी नै चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र माथिबाट लिस्ट पेस हुने संरचनामा गएपछि नवपुस्ताले किन आउँछ ? जहाँ सम्भावनै छैन,’ पाण्डेले भने ।

यस स्थितिलाई बदल्न आवश्यक रहेको उल्लेख गर्दै उनले कानुनी र संवैधानिक सुधार पनि अपरिहार्य रहेको बताए । पार्टीमा एक व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाइने व्यवस्था कानुनमै राख्नुपर्ने उनको सुझाव छ ।

‘यो राजनीतिक प्रश्न मात्र होइन । यसको समाधान कानुनी र संवैधानिक रूपमा पनि गर्नुपर्छ । एक व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाओस् भन्ने व्यवस्था कानुनमै ल्याउनुपर्छ,’ उनले भने ।

नयाँ बनेका राजनीतिक दलहरूमा पनि यही समस्या दोहोरिन थालेको उल्लेख गर्दै पाण्डेले चिन्ता व्यक्त गरे ।

‘पुराना मात्र होइन, नयाँ बनेका पार्टीहरूमा पनि उही समस्या देखिन्छ । अहिले जो नेता छन्, उनीहरू पनि अध्यक्षको पद छाड्न चाहँदैनन्,’ उनले टिप्पणी गरे ।