© २०२३
काठमान्डौ, २२ मंसिर ।
नेकपा एमालेका नेता परशु मेघी गुरुङले पार्टीभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको बताएका छन् । सोमबार काठमाडौँमा ईश्वर पोखरेल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई मार्क्सवादी विचारधाराअनुसार सञ्चालन गर्न नसक्दा यस्तो अवस्था उत्पन्न भएको उल्लेख गरे ।
‘निर्देशित एकाधिकारवादी प्रवृत्तिका कारण गम्भीर विचलन देखा परेको छ,’ गुरुङले भने, ‘तर अब ११औँ महाधिवेशनबाट यस विचलनलाई सुधार गर्नुपर्छ । हाम्रो पार्टीलाई नागरिकहरूले समाधानको संस्था होइन, समस्याको रूपमा हेरेका छन् ।’
उनले सैद्धान्तिक राजनीतिक विचलनको समीक्षा आवश्यक रहेको बताए र पार्टीलाई यसबाट बचाउन सिद्धान्त, नीति र कार्यक्रमको महत्त्वलाई जोड दिए । गुरुङले नेतृत्वको शैली र पद्धति सुधार नगरी पार्टी रूपान्तरण असम्भव रहेको स्पष्ट पार्दै भने, ‘हाम्रो लोकतान्त्रिक विधि र पद्धति यति निर्देशित भएको छ कि पार्टीको बैठकमा खाइने खाजाको स्रोत समेत खोज्न सकिँदैन ।’
निर्देशित र एकाधिकार प्रवृत्ति हावी हुँदा पार्टीका कमिटीहरूले विभिन्न तहका सरकारको अपनत्व लिन नसक्ने अवस्था उत्पन्न भएको पनि उनले बताए । गुरुङले अहिले पार्टीलाई लोकतान्त्रिक ढाँचामा रूपान्तरण गर्नु प्रमुख आवश्यकता भएको बताए ।
कार्यक्रममा नेता विनोद ढकालले भने, ‘हामी कार्यकर्ताको भावनाअनुसार पार्टी चलाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । ११औँ महाधिवेशनले यसअनुसार नेतृत्व चयन गर्नेछ ।’ उनले नेकपा एमालेको पुनर्गठन र रूपान्तरण आवश्यक रहेको भन्दै आफ्नो समूहबाट नेता ईश्वर पोखरेललाई अध्यक्ष पदको प्रत्याशीका रूपमा अघि सारेको जानकारी पनि दिएका छन् ।