Butwal Today

सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस

२२ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरिएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जानकारी दिएको छ । सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन् ।

भट्टराई वैदेशिक रोजगार विभागमा महानिर्देशकका रूपमा कार्यरत छन् भने घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ ।

वरिष्ठताका आधारमा सचिवमा बढुवा हुने भएकाले पौडेलकाे सम्भावना प्रबल रहेको स्रोतले जनाएको छ ।

मंसिर ९ गते राति राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएपछि मन्त्रिपरिषद् बैठकले वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गरेको थियो । रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएका थिए ।

यस्तै, रिक्त रहेको सचिव पदमध्ये एक पदका लागि तीन जनामध्ये एक जनालाई बढुवा गर्न सिफारिस गरिएको हो ।