© २०२३
काठमान्डौ, २२ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्की र उद्योगपति दुर्गा प्रसाईँबीच आज भेटवार्ता हुने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईँलाई पत्राचारमार्फत मंसिर २२ गते वार्तामा सहभागी हुन अनुरोध गरेका थिए ।
प्रसाईँले यसअघि १२ मंसिरमा सिंहदरबारमै गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले विद्यमान व्यवस्था खारेज गर्नेसहितका २७ बुँदे मागपत्र बुझाएका थिए । त्यतिबेला प्रसाईँले आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राख्ने अवसर मिलाइदिन आग्रह गरेका थिए ।
उक्त आग्रहअनुसार आज दिउँसो ३ बजे भेटवार्ताको व्यवस्था मिलाइएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
सरकार र प्रसाईँबीचको संवाद प्रक्रियामा अधिवक्ता विनोदमणि भट्टराई र लवन न्यौपाने सहजीकरणकर्ता रहेका छन् ।