Butwal Today

ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

२२ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २२ मंसिर ।

मंसिर २७ देखि सुरु हुने नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पृथक राजनीतिक प्रस्ताव तयार पारेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नोबाहेक अन्य कुनै प्रस्तावमा छलफल नहुने स्पष्ट संकेत दिइरहेका बेला पोखरेलले भिन्न धारणा प्रस्तुत गर्न लागेका हुन् । पोखरेलले तयार पारेको प्रस्ताव महाधिवेशनमा पेस गर्ने उद्देश्यासहित आज अध्यक्ष ओलीसँग छलफल गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

‘आज अध्यक्ष ओलीसँग आफ्ना प्रस्तावबारे नेता पोखरेलको छलफल हुँदैछ,’ पोखरेल निकट एक नेताले बताए, ‘उहाँले राजनीतिक प्रस्ताव पूर्ण रूपमा तयार पारिसक्नुभएको छ । पहिले अध्यक्षलाई देखाउने र त्यसपछि महाधिवेशनमा औपचारिक रूपमा पेस गर्ने तयारी भइरहेको छ ।’

पोखरेलको प्रस्तावमा जेनजी आन्दोलनअघि र पछिको देशको राजनीतिक अवस्थाको विश्लेषण, पार्टी पुनर्गठन र लोकतान्त्रीकरण, वर्तमान अवस्थामा पार्टीले लिनुपर्ने नीति तथा देशको निकास, नवयुवाहरूको मनोभावना र पार्टीले चाल्नुपर्ने बाटोसहित राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीति समेटिएको छ ।

पोखरेल पक्षले भदौ २३ पछि देखापरेको परिस्थितिको गम्भीर समीक्षा आवश्यक भएको दाबी गर्दै आएको छ । उनीहरू विकसित राजनीतिक घटनाक्रमका आधारमा एमालेलाई नयाँ कार्यदिशा आवश्यक रहेको तर्क गर्छन् । तर अध्यक्ष ओली भने सो धारणा स्वीकार्न तयार नभएको सो समूहको आरोप छ ।

गत भदौ २० देखि २२ गतेसम्म सम्पन्न विधान महाधिवेशनले राजनीतिक, सांगठनिक र विधान संशोधनसहितका प्रतिवेदन तथा प्रस्ताव पारित गरेको थियो । तर ती दस्ताबेजमा आवश्यक संशोधन र थप छलफल हुनुपर्ने धारणा पोखरेल समूहले व्यक्त गर्दै आएको छ ।