© २०२३
बुटवल, २२ मंसिर ।
योजना प्रमुखमाथि अभद्र व्यवहार गरी कालोमोसो दल्ने र दुव्र्यवहार गर्ने कार्य गरेको भन्दै राष्ट्रिय आवास कम्पनी योजना कार्यालय नवलपरासीका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । आवास कम्पनीमा कार्यरत कर्मचारीहरुले एक बिज्ञप्ती जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । उनीहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण तयार गर्न विज्ञप्ती मार्फत अनुरोध गरेका छ्न ।
कार्यालय प्रमुख र कर्मचारीहरूमाथिको अभद्र व्यवहारप्रति कार्यालय कर्मचारी परिवारले कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का नगरस्तरका केही कार्यकर्ताले योजना कार्यालय प्रमुखमाथि अनधिकृत रूपमा प्रवेश गरी ८–१० जनाको समूहमा दुरुत्साहनमूलक र धम्क्याउने शैलीमा व्यवहार गरेको उल्लेख गरिएको छ । विवादका नाममा राजनीतिक समूहले कार्यालय प्रमुखमाथि आरोप लगाउँदै अत्यन्तै अपमानजनक ढंगले प्रस्तुत भएको र यसले कार्यालयको कामकाज र कर्मचारीको मनोबलमा गम्भीर असर परेको कर्मचारी परिवारले जनाएको छ ।
कर्मचारी परिवारले शान्त वातावरणमा काम गर्न पाउनुपर्ने अधिकार हनन भएको बताउँदै, यस्तो व्यवहारले सरकारी कार्यालयलाई नै लक्षित गरी आतंकित बनाउन खोजिएको टिप्पणी गरेको छ । यस्तै, बिना प्रमाण आरोप लगाएर अभद्र व्यवहार गर्ने जो कोहीमाथि छानबिन गरी कानुनी कारबाही गर्न राज्यसमक्ष माग गरिएको छ ।
विज्ञप्तिमा योजना कार्यालयका सम्पूर्ण कर्मचारी र परिवारको तर्फबाट कार्यालय प्रमुख र कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई आइतवार दिउँसो नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो दलेका थिए । उनीमाथि अनियमितता र अख्तियार दुरुपयोग लगायतको आरोप लगाउँदै दुव्र्यवहार गरिएको नेकपा बहुमतले जारी गरेको पर्चामा उल्लेख गरिएको छ ।
