© २०२३
काठमान्डौ, २२ मंसिर ।
भारतको गोवास्थित एक नाइट क्लबमा आइतबार बिहान भएको भीषण आगलागीमा परेर चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक मध्ये पाँच जना पर्यटक र २० जना क्लबका स्टाफ रहेका छन् ।
पर्यटकमध्ये चार जना भारतको दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमारको मृत्यु भएको छ । अर्का एक पर्यटक कर्नाटकका इशाक भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
आगलागीमा परी मृत्यु भएका २० स्टाफमध्ये पाँच जना उत्तराखण्डका रहेका छन् । त्यस्तै, क्लबमा काम गर्दै आएका चार नेपालीको समेत मृत्यु भएको पुष्टि गरिएको छ । मृतक नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीप रहेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरूको स्थायी ठेगाना भने सार्वजनिक गरिएको छैन ।
यसैगरी महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जनाको मृत्यु भएको बताइएको छ । सबैजना सोही नाइट क्लबमा कार्यरत स्टाफ भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।