© 2026
काठमान्डौ, २२ मंसिर ।
सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको घटनामा उनी पक्राउ परेका छन् । हत्या गरेर फरार भएका कार्कीलाई नागढुंगाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनलाई हाल परिसरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो सिनामंगलस्थित भाडाको कोठामा कार्कीले छोराको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ब्रेन ट्युमरको उपचाररत छोराको स्याहार–सम्भारको क्रममा असई कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको र सोही झोकमा कार्कीले छोरामाथि प्राणघातक आक्रमण गरेको प्रहरीको दाबी छ ।
घटनाका बेला पत्नी कृष्णालाई समेत कुटपिट गरी घाइते बनाइएको प्रहरीले बताएको छ । प्रहरी जवान समेत रहेकी कृष्णा र कार्की दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी इकाइमा कार्यरत छन् । घाइते कृष्णालाई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गर गरिएको छ ।