Butwal Today

अन्डाको मूल्य फेरि बढ्यो

२२ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २२ मंसिर ।

१० दिनअघि बढाइएको अन्डाको मूल्य फेरि वृद्धि गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

संघले १३ मंसिरमा अन्डाको मूल्य बढाएकोमा पुनः ठूलो अन्डामा २० रुपैयाँ वृद्धि गर्दै नयाँ मूल्य सार्वजनिक गरेको छ । यसअनुसार सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५८० रुपैयाँ पुगेको छ भने ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६५ रुपैयाँ कायम गरिएको छ । मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँ तोकिएको छ ।

१३ मंसिरमा सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६०, ठूलो अन्डा ५४५ र मध्यम अन्डा ५३० रुपैयाँ रहेको थियो ।

संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढेको बताए ।