© २०२३
पछिल्लो समय विदेशमा आउने रेमिट्यान्समा बृद्धि भएको छ ।
विदेशबाट पैसा आउँदा नेपालीको क्रय शक्ति बढेको छ तर बिदेशबाट पैसा ओइरिँदा नेपालबाट बाहिरिने पैसाको विषयमा भने चासो र चिन्ता नहुँदा त्यसले भोलिको दिनमा विकराल अवस्था आउन सक्ने कुरामा अहिलेदेखि नै खबरदारी गर्नु जरुरी देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार विदेशका विभिन्न कलेजमा नेपाली विद्यार्थी अध्ययनका लागि भन्दै साउनयताको चार महिनाको अवधिमा करिब ४० अर्ब रुपियाँ बाहिरिएको छ । नेपाली पैसा यसरी नै विदेश पलायन हुनु अत्यन्त दुःखको कुरा हो ।
यसले के देखाएको छ भने विदेशबाट आउने नेपाली पैसा र नेपालबाट बिदेसिने पैसाको बिचमा तादात्म्यता छैन । यसले भोलिको दिनमा ठुलो समस्या उत्पन्न गर्न सक्छ । यद्यपि नेपालको ढुकुटीमा एक वर्ष बढी समयलाई आयात धान्ने विदेशी मुद्राको सञ्चय छ ।
तर पनि आउने भन्दा बिदेसिने पैसा बढी भयो भने त्यसले भोलिको दिनमा नेपाली अर्थतन्त्रमा चुनौती थपिन सक्छ । यो विषयमा नेपाल सरकार र अर्थबीदहरूले अहिलेदेखि नै चासो र चिन्ता गर्नुपर्ने समय आएको छ । समय घर्केपछिको चिन्ताले परिणाम दिन सक्दैन ।
यो भन्दा अर्को ठुलो चिन्ता के छ भने अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थी उतै स्थायी बसोबास गरि बस्न थालेका छन् । यसले नेपाली पैसा मात्रै बिदेसिएको छैन, नेपालको श्रम र दक्ष जनशक्ति समेत बाहिर पलायन भैरहेको छ । अर्कोतर्फ नेपाल युवाविहीन हुने हो कि भन्ने चिन्ता थपिएको छ ।
त्यही भएर सरकारले जनसंख्या बृद्धिको नयाँ रणनीति समेत तय गर्न लागेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, जर्मन, बेलायत जस्ता देशमा नेपाली विद्यार्थीको संख्या बाढी जस्तै अधिक छ ।
विदेशमा अध्ययनका लागि भनेर गएका उनीहरूलाई पछि स्वदेशमा ल्याउने र सीप अनुसारको काम दिने सरकारको कुनै योजना छैन् । बरु विदेशी मुलुकसँग श्रम सम्झौता गरेर बाँकी रहेका कम शिक्षित युवालाई पनि विदेश नै पठाउने सोच नेपाल सरकारले राख्दै आएको छ ।
यसले कालान्तरमा नेपाल युवाविहिनमात्रै होइन, नेपालको जनसंख्यामा पनि भारी असर पर्ने देखिएको छ ।
पछिल्लो समय अध्ययनका लागि बाहिर जाने युवाको संख्याले भविष्यमा यहाँ दक्ष जनशक्तिको अभाव हुने जोखिम देखाएको छ । अर्कोतर्फ नेपालका क्याम्पस खाली हुने चिन्ता डरलाग्दो रूपमा बढिरहेको छ । यो विषयमा चिन्तामात्रै गरेर हुँदैन यसको निकास के हुन सक्छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।
विगत केही बर्षयता अमेरिका, अष्टे«लिया, जर्मन, बेलायत, क्यानडा, पोर्चुगल लगायतका देश गएका घरका बुबा आमाले गर्न गर्ने अवस्था थियो । तर, पछिल्लोसमय पछुतो मान्नुपर्ने अवस्था सिर्जना भएको छ । छोरा छोरी विदेश अनि बुढा आमा बुबा स्वदेशमा बुढो घर कुरेर बुढ्यौली बिताउनुपर्ने बाध्यता उत्पन्न भैसकेको छ ।
छोरा छोरी ठुलो देश जाँदा गर्ब गर्ने अवस्था अव हट्दैछ । मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । यसबाट नेपाली विद्यार्थी विदेश पलायनमात्रै होइन, विद्यार्थीकै कारण भएको रोजगारी सिर्जनाको आधार पनि अव गुम्ने अवस्था उत्पन्न भएको छ ।
तसर्थ अवको दिनमा युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्नुपर्ने जरुरी छ । त्यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समय अनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक छ । विश्व धेरै अगाडी बढिसकेको छ । एआईको जमाना आईसकेको छ ।
विदेश पलायनको अर्को विकल्प युवाहरूले देख्नै छाडिसकेका छन । नेपालमा केही छैन, केही गर्न सकिदैन भन्ने मानसिकता विकास भएको छ ।
युवा पुस्ता देशमा किन बस्न चाहेनन् भन्ने विषयमा सोच्न ढिला भइसक्यो । छोरा छोरी मुग्लान अनि बाबु आमा बुढ्यौली कटाउँदै दिन बिताउनुपर्ने अवस्थाको अन्त्यका लागि अव नयाँ शिराबाट सोच्नु जरुरी छ ।