© २०२३
काठमान्डौ, २२ मंसिर ।
नेकपा एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उद्घाटन हुने भएको छ । महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब २ हजार ४०० प्रतिनिधिहरू सहभागी हुनेछन् । एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कुल ८१ जिल्ला कमिटी रहेका छन् । प्रतिनिधि चयन सदस्यता अनुपात र निर्वाचन क्षेत्रलाई आधार बनाएर गरिएको छ ।
महाधिवेशनमा २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग र २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् रहेका छन् । केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवं सदस्य स्वतः प्रतिनिधि भएका छन् भने बाँकी प्रतिनिधि चुनावी विधिबाट चयन गरिएको छ ।
प्रदेशस्तरीय कमिटीबाट प्रत्येक पाँचजनामा दुई जना महिला सदस्यसहित ४५ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत १२ सय पार्टी सदस्यमा आधारित, ४० वर्ष मुनिका एक युवा र कम्तीमा एक महिला समावेश गरी चार जना प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशनमा करिब १० हजार स्वयंसेवक परिचालित हुनेछन् । यी स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन तथा कमिटीबाट चयन भएका छन् । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि महाधिवेशनमा स्वयंसेवकको भूमिका निभाउनेछ ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । समितिमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत सदस्य रहेका छन् ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उद्घाटनका लागि मञ्च व्यवस्थापन, शौचालयलगायत पूर्वाधार निर्माणका काममा स्वयंसेवक खटिएका छन् ।
पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रसम्म व्यवस्थापन गर्ने तयारी गरिएको छ ।