© २०२३
काठमाडौं, २१ मंसिर ।
साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार ओरालोमा रहेको छ ।
आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११:०९ बजे २६३६ अंकमा पुगेको बजार त्यसपछि निरन्तर ओरालोमा रह्यो ।
आज ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम १० करोडले बढेर ५ अर्ब ३३ करोडमा पुगेको छ । अघिल्लो दिन कारोबार ५ अर्ब २३ करोडमा थियो ।
बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ र व्यापार १.२१ प्रतिशत घटेका छन् ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेका कम्पनीहरूमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जी छन् । यी कम्पनीहरूको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ । त्यस्तै, मेन्छियाम हाइड्रोपावरको मूल्य ५.३७ र एसियन हाइड्रोपावरको २.६७ प्रतिशतले बढेको छ ।
सूचीकृत भएदेखि लगातार १० प्रतिशत मूल्य वृद्धि देखाउने सागर डिस्टिलरी आज घटेको छ । यस कम्पनीको मूल्य ६.९० प्रतिशतले घटेको छ । त्यस्तै, बुङ्गल हाइड्रोपावरको मूल्य ८.५१, माबिलुङ इनर्जीको ६.९८ र मिथिला लघुवित्तको ५.९० प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबुलकार, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स छन् ।