© २०२३
नवलपरासी, २१ मङ्सिर ।
भगवान् गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तूपकै अभिन्न अङ्ग मानिने सङ्घराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा बौद्ध भिच्छुले पनि चाँसो देखाएका छन् ।
बौद्धकालीन उक्त पोखरीमा तत्कालीन बौद्ध भिच्छुले स्नान गर्ने, साधना गर्दै आएको आध्यात्मिक पोखरी रहेको भन्दै बौद्ध भिच्छुको पनि चासो बढेको हो । रामग्राम स्तूपमा आएको भिच्छु निपुन सहितका भिच्छुले नजिकै बौद्धभिच्छुहरू बास बस्ने र उक्त पोखरीमा स्थान र नजिकै ध्यान साधना गरेको कुरा सुनेर रामग्राम १७ मा रहेको उक्त पोखरीको स्थलगत अवलोकनमा पुगेका थिए ।
बुद्धसँगै यस पोखरी तथा संघारामको महत्त्व जोडिएको छ, बुद्ध भिच्छुलाई अहिले पनि यो उत्तिकै आध्यात्मिक साधनाका लागि उपयुक्त देखिएको बताएका थिए । बौद्धसंघमा पनि यसबारे चर्चा गरिने बताउँदै उनले यसको संरक्षण र प्रवर्द्धनमा सरकार र स्थानीयवासीको सहभागिता हुन आवश्यक रहेको औंल्याएका थिए ।
बौद्धकालीन उक्त पोखरीबाट केही प्राचीन बस्तु सिला पनि भेटिएको थियो । उक्त सिला पोखरी किनारमा राखिएको छ । विगतमा गाउँघरका भैँसीहरू नुहाउन लैजाने, खेतीपातीमा सिचाई गर्न प्रयोग गर्दै आएको उक्त पोखरीलाई अहिले सोही वडाका वार्डका वार्ड अध्यक्षले चासो लिई काम भई रहेको बताएका थिए ।
सङ्घाराममा बास बस्ने बौद्ध भिच्छुले उपयोग गर्ने उक्त बौद्धकालीन पोखरीको संरक्षणमा वार्ड स्तरबाट सम्भव हुने संरक्षणका काम भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्हैया मौयले जानकारी गराएका थिए । स्थानीयले पनि बौद्ध भिक्षुसँग पोखरीबारे जानकारी आदान प्रदान गरेका थिए ।
रामग्राम स्तूप नजिक र बौद्धकालीन प्राचीन समाग्रिहरू समेत फेला पर्ने गरेको छ । स्तूप देखी पूर्वमा रहेको देवगाव नै संंघराम भएको पहिचान पछि सङ्घराम स्थल र पोखरीको समेत संरक्षण कार्य भई रहेको वार्ड अध्यक्ष मौर्यले बताए ।
सो स्थानमा पुरातत्त्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सूचना बोर्ड राखेको छ । बुद्ध काल कै पोखरी पनि हो, उनले भने, यसको संरक्षणका लागि आफू लागि परेको छु ।
५ विघा क्षेत्रफलमा उक्त प्राचीन पोखरी रहेको छ, उनले थपे,अहिले पोखरीको पश्चिम तर्फको तटबन्ध गरि ९० मिटर पक्कि ढलान गरि संरक्षण गरिएको छ,क्रमशः यसलाई विस्तार गर्दै संरक्षण गर्दै लैजाने लक्ष्य रहेको छ ।