© २०२३
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइ प्रोफाइल व्यक्तिलाई धम्की दिने समूहका ‘नाइके’ नेपाल बाहिर रहेको थाहा भएको छ । प्रहरीले गरेको अनुसन्धानबाट काभ्रे घर भएका प्रकाश पाठक इन्डोनेसियामा रहेको पाइएको छ ।
आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।
उनले इन्डोनेसियामा बसेर हाइ प्रोफाइललाई धम्की दिएको अनुसन्धानबाट थाहा भएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । ‘सामाजिक सञ्जाल मार्फत भिडियो पोस्ट गर्ने युवक इन्डोनेसियमा रहेको खुलेको छ,’ ती अधिकृतले भने ।
मंसिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरुको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रमुख आयुक्त राई सहित १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।