© २०२३
काठमान्डौ, २१ मंसिर ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मङ्सिर २७ गते हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा जनउपस्थिति संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक भूमिका खेल्ने दाबी गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता ज्ञवालीले भने, “आउनुहोस्, मङ्सिर २७ गते दिउँसो भक्तपुर सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई ‘नो’ भनौँ । १ दिनको उपस्थितिले पनि ठूलो अर्थ राख्छ, किन उपस्थित नहुने ?”
ज्ञवालीले उद्घाटन समारोह पार्टी परिवारका लागि सबैभन्दा ठूलो उत्सव मात्र नभई लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि भएको बताए । उनले लेखेका छन्, “राजनीतिक पार्टीहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् । पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्छन् । जसरी २०६२ मङ्सिर ४ गते नेकपा एमालेले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कु’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसाएको थियो, मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा निर्णायक मोडको रूपमा भूमिका खेल्नेछ ।”
