© २०२३
काठमान्डौ, २१ मंसिर ।
हेटौंडा बजारको राजमार्ग क्षेत्रभित्र पर्ने मेनरोड, राप्ती रोड, एचआइडी, चौकिटोल लगायतका क्षेत्रमा ५ सयभन्दा बढी घर हिजो एकै दिन भत्काइएको छ ।
सडक फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र मकवानपुर प्रशासन कार्यालयको सक्रियतामा उक्त काम गरिएको हो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउने काम भइसकेको छैन, तर सडक डिभिजनले काम सुरु गरेको जनाएको छ ।
यसका लागि सडक डिभिजनले गत मंसिर ५ मा महेन्द्र राजमार्गको रातोमाटेबाट बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकबाट सामरी पुलसम्मको सडक क्षेत्रभित्रका घर–संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो । सूचना अवधि शुक्रबार सकिएको थियो र त्यसपछि शनिवार बिहानदेखि घर भत्काउने काम थालिएको हो ।
सडक डिभिजनले अतिक्रमित क्षेत्र खाली गर्न १५ दिने म्यादसहित सूचना जारी गरेपछि दायर रिटमा सर्वोच्च अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू’ भनेको थियो । तर आदेशको भोलिपल्ट शनिवार घरहरू भत्काइएको हो ।