© २०२३
बुटवल, २१ मंसिर ।
बर्दियामा नागरिकता नपाएर एकै परिवारका बाबु–छोरीले आत्महत्या गरेको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा माफी मागेकी छन्।
शनिबार उनले सामाजिक सञ्जालमार्फत माफी माग्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “यदि न्यायिक–प्रशासनिक झमेलाका कारण यस्तो अवस्था आएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु।”
बर्दियाको बढैयाताल–४ की २२ वर्षीया अन्जु थारुले लामो समयसम्म नागरिकता नपाएपछि कात्तिक २२ गते आत्महत्या गरिन्।
अदालतले श्रीमानबाट अंश दिलाउने आदेश दिएको भए पनि नागरिकता नभएकै कारण उनले अंश आफ्नो नाममा सार्न सकिनन्। नागरिकता नहुँदा सात वर्षकी छोरीको जन्मदर्ता पनि हुन सकेन। वडाले “बुबाको नागरिकता अनिवार्य हुन्छ” भन्दै जन्मदर्ता रोकेको थियो।
माइतीतिरबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले पनि प्रक्रिया अघि बढाएन। लगातार स्थानीय तह र प्रशासनबाट असहयोग भएपछि निराश भई अन्जुले माइतीमै आत्महत्या गरिन्।
छोरीको मृत्युको आघात सहन नसकेर चार दिनपछि उनका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरे।