© २०२३
काठमान्डौ, २१ मंसिर ।
शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । पति–पत्नी मात्र बस्ने परिवारका लागि अत्यधिक विलासी ढंगले तयार गरिएको डिजाइन अनुचित रहेको उल्लेख गर्दै उनले उक्त नक्सा तयार गर्ने इञ्जिनियरमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
‘एकछिन रमाइलो’ शिर्षकसहित फेसबुकमा अभिव्यक्ति दिँदै मन्त्री पुनले लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । घोर बेइज्जत तथा मानहानीको मुद्दा समेत चलाउनुपर्छ भन्ने मेरो धारणा छ । हाकिमले “दुई जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ” भनेको बेला यत्रो ठूलो दरबारजस्तै नक्सा बनाइदिनु लापरवाहीको चरम उदाहरण हो ।’
शिक्षामन्त्री पुनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ ।