© २०२३
चन्द्रौटा, कपिलवस्तु, २१ मंसिर –
नुडल्स तथा स्न्याक्स क्षेत्रमा अग्रणी ब्राण्ड “करेन्ट नुडल्स” का निर्माता यशोदा फुड्सले दिगोपना र हरित ऊर्जा क्षेत्रमा महत्वपूर्ण कदम चालेको छ। कम्पनीले चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नै उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार प्रणाली सफलतापूर्वक जडान गरेको छ।
२३ नोभेम्बर २०२५ देखि सञ्चालनमा आएको यस परियोजनाले प्लान्टको विद्युत आवश्यकताको करिब ८० प्रतिशत पूरा गर्नेछ र ऊर्जा खर्च ६५ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ। कम्पनीले यस प्रोजेक्टमार्फत “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी” को उपाधि पनि आफ्नो नाममा दर्ता गराएको छ।
ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले उद्घाटन कार्यक्रममा भने कि ८६५ केडब्ल्यूपी क्षमताको यस सौर्य प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ र यसले २,००० टन सीओ₂ उत्सर्जन घटाउनेछ। यसले उत्पादन लागत कम गरेर कम्पनीलाई थप प्रतिस्पर्धी बनाउनेछ।

यस परियोजनाको निर्माण नेपालकै अग्रणी स्मार्ट सोलार समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिले सम्पन्न गरेको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा उपलब्ध गराएको थियो भने जर्मन सहयोगी डीकेटीआई र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) ले व्याजअनुदानसहितको सहयोग प्रदान गरेको थियो।
एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने र अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्ने बताए। प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले छ महिनाभित्र नविनतम सोलार पीभी प्रविधि, उच्च कार्यक्षमताका बाइफेसियल सोलार प्यानल र एआई सक्षम स्मार्ट इनभर्टर प्रयोग गर्दै परियोजना सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गरे।

विश्वभर सौर्य ऊर्जा दिगोपन र वातावरणमैत्री ऊर्जाको रूपमा तीव्र गतिमा फैलिरहेको छ। नेपालमा पनि उद्योगहरूले रूफ–टप सोलार प्रणालीलाई कम लागतको वैकल्पिक ऊर्जा स्रोत र डिकार्बोनाइजेशन उपायका रूपमा अपनाउन थालेका छन्। एईपीसीका अनुसार हालसम्म २५ मेगावाट क्षमताका ५० भन्दा बढी उद्योगहरूले यस्ता परियोजना जडान गरिसकेका छन् र संख्या दैनिक रूपमा बढ्दै गएको छ। उद्घाटन कार्यक्रममा यशोदा फुड्स, एईपीसी र प्राइम रिन्यूएवल्सका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
