© २०२३
जितपुर (कपिलवस्तु ), २१ मंसिर
बाणगंगा नगरपालिका–१ बैरिया स्थित एक चर्चभित्र अन्दाजी ५५ वर्षका एक व्यक्तिमाथि सामूहिक कुटपिट भएको छ। धर्मको नाममा गरिएको यो अराजक घटनामा पीडितलाई खुर्सानीको धुलो हाल्दै करीब ९ जनाको समूहले मराणासन्न हुनेगरी कुटपिट गरेको प्रहरीले जनाएको छ।
घटना मंसिर १९ गते राति भएको हो। ‘काम छ’ भन्दै बोलाई ल्याइएका पीडितमाथि चर्चकै भित्र योजनाबद्ध रूपमा आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी बताउँछ।
पीडितले घटनापछि इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएपछि प्रहरीले तत्कालै अनुसन्धान अघि सारेको छ। उजुरीका आधारमा संलग्न व्यक्तिहरूमध्ये केहीलाई नियन्त्रणमा लिइएको र बाँकीलाई पनि समातिने प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
“धर्मको नाममा यस्ता अराजक गतिविधि स्वीकार्य छैन। पीडितको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कानुनी कारबाही अगाडि बढाइनेछ,” प्रहरी निरीक्षक पौडेलले बताए।गम्भीर घाइते भएका पीडितको उपचार हुँदैछ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले यस प्रकारका घटना पुनः नदोहोरिन कडा कारबाही हुनुपर्ने माग गरेका छन्।