© 2026
बुटवल, २० मङ्सिर ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक–४ लेनमा विस्तार हुँदै गर्दा तिनाउ नदीमा बन्ने सिग्नेचर पुलका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।
हाल रहेको ‘तिनाउ पुल’ जीर्ण बन्दै गएको र सवारी चाप अत्यधिक बढिरहेको कारण नयाँ पुल निर्माणका लागि शुक्रबारबाट टेन्डर प्रक्रिया सुरु भएको हो ।
यस अघि बुटवल–चन्द्रौटा खण्ड विस्तारपछि पुरानो पुलले सवारी भार थेग्न नसक्ने भएकाले करिब चार वर्षअघि नै सिग्नेचर ब्रिज निर्माण तयारी थालिएको थियो ।
सिग्नेचर पुल निर्माण कार्यसँगै पुल परिसरको पर्यटकीय सम्भावना बढाउने उद्देश्य राखिएको छ । पुल नजिकै रहेका जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेटेर करिब ३०० मिटर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अवधारणा अनुसार तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण प्रक्रिया अघि बढाइएको हो ।