© २०२३
काठमाडौँ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेशका लागि फेरि सुदूपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिमलाई हराउँदै विराटनगर पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
सुदूरपश्चिमसँग फराकिलो जित निकालेसँगै विराटनगर किंग्सले रनरेट पनि सुधार गरेको छ। समान १० अंक भएपछि नेट नररेटका आधारमा विराटनगर काठमाडौँ गोर्खाजलाई पछि पार्दै पहिलो क्वालिफायरमा पुगेको हो। विराटनगरको नेट रनरेट ०.६८ छ भने काठमाडौँको ०.५४ छ।
सुदूरपश्चिम सातमध्ये ६ खेल जितेर यसअघि नै १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। अब पहिलो क्वालिफायरमा मंगलबार अपराह्न ४ बजे हुनेछ।
पहिलो क्वालिफायरमा हार्ने टोलीले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न पाउनेछ।
त्यस्तै, नेट रनरेटमा पछाडि परेको काठमाडौँले अब इलिमिनेटर खेल्नुपर्नेछ। इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार हुनेछ।
इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ भने जित्ने टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ। पहिलो क्वालिफायरमा हार्ने टोली र इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ।
एनपीएलको फाइनल खेल अर्को शनिबार हुनेछ। एनपीएलको पहिलो सिजनमा फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्टसले उपाधि जितेको थियो। यस पटक भने साविक विजेता जनकपुर लिग चरणबाटै बाहिरिएको छ।